कञ्चनपुरमा महिलामाथि हुने घरेलु तथा लैंगिक हिंसा विरुद्धका उजुरी बढ्दै

कञ्चनपुर । कञ्चनपुरमा महिलामाथि हुने घरेलु तथा लैंगिक हिंसा विरुद्धका उजुरी बढ्दै गएको एक तथ्यांकले देखाएको छ । पछिल्लो समयमा महिलामाथि लिंङ्गका आधारमा हुने लैंगिक हिंसा तथा घरपरिवारबाटै हुने घरेलु हिंसाका उजुरीहरु बढ्दै गइरहेको प्रहरी तथ्यांकले पुष्टि गरेको पाइन्छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्राप्त तथ्यांक अनुसार आर्थिक वर्ष २०७५।०७६ मा कञ्चनपुर जिल्लाभर १ सय ८४ घरेलु हिंसा तथा ११ लैंगिक हिंसा गरी महिला हिंसाका जम्मा १ सय ९५ उजुरी प्रहरी समक्ष आएको देखिन्छ । त्यस्तै, आर्थिक वर्ष २०७६।०७७ मा १ सय ५४ घरेलु हिंसा तथा ६५ लैंगिक हिंसा गरी महिला हिंसाका जम्मा २ सय १९ घटना दर्ता भएको प्रहरी तथ्यांकले देखाएको छ । ती दुई आर्थिक वर्ष भन्दा थप भयावह अवस्था आर्थिक वर्ष २०७७।०७८ मा देखिएको छ । आर्थिक वर्ष २०७७।०७८ को असोज मसान्तसम्म मात्रै पनि कञ्चनपुरमा ९९ घरेलु हिंसा र ५३ लैंगिक हिंसाका घटना गरी महिला हिंसाका १५२ उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
यसका अतिरिक्त स्थानीय तहमा गठित न्यायिक समिति, सामुदायिक मेलमिलाप केन्द्र र गाउँसमाजमा समुदायका व्यक्तिहरुले आपसी समझदारीमा कयौँ घटनाहरु किनारा लगाउने गरेको पाइन्छ । पछिल्लो समयमा महिलाहरुमा कानुनी सचेतना अभिवृद्धि हुनु र महिला सशक्तीकरणका कारणले समेत न्यायका निम्ति प्रहरी समक्ष उजुरी दर्ता गर्ने क्रम बढेका कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनुभयो ।
नेपालको संविधानले महिलाको अधिकार (धारा ३८), यातनाविरुद्धको हक, छुवाछुत र शोषण विरुद्धको हक, प्रजनन स्वास्थ्य सम्बन्धी हक, गोपनीयताको हक, सम्पत्तिमा समान हक र न्याय सम्बन्धी हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । यद्यपि कानुनी व्यवस्था कार्यान्वयनको पाटो जटिल विषय हुने भएकोले अपेक्षाकृत रूपमा त्यस्ता प्रावधान अझै पनि व्यवहारमा पूर्णतः लागु हुन सकिरहेका छैनन् । त्यसैले त्यस्ता कानुन कार्यान्वयन तर्फ सबैले जोड दिनु आवश्यक देखिन्छ । महिलामाथि हुने हिंसा रोकथाम गर्न सरकारको तर्फबाट भएका प्रयास कम भएको महिला अधिकारकर्मी शारदा चन्द बताउनुहुन्छ ।
महिला हिंसा अशिक्षित वर्गबाट मात्र नभएर शिक्षित र चेतनशील वर्गबाट समेत हुने गर्दछ । यो केवल महिला वर्गको सरोकारको विषय मात्र नभई समग्र मानव समुदायको चिन्ता र चासोको विषय समेत भएकोले आपराधिक कर्मलाई सबैले आ–आफ्नो क्षेत्रबाट रोक्ने वा न्यूनीकरण गर्ने प्रयास गर्न आवश्यक छ ।







प्रतिक्रिया राख्नुहोस्