मुकेश चौरसिया हत्याको जाहेरी प्रहरीमा दर्ता

बीरगंज । हत्या भएको ७ दिनपछि मुकेश चौरसिया हत्या काण्डको अभियुक्त विरुद्ध पीडित परिवारले दिएको जाहेरी आज प्रहरीमा दर्ता भएको छ ।
जिल्ला न्यायधिवक्ताको कार्यालयबाट मुद्दा दर्ता गर्न आदेश आएपछि पर्सा प्रहरीले पीडित परिवारले दिएको जाहेरी अनुसार मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी मनोजित कुँवरले बताउनुभयो ।
पर्साको विन्दवासिनी गाउँपालिकाको प्रसौनीभाठामा गत कार्तिक ६ गते सपथ ग्रहण कार्यक्रममा झडप हुँदा मुकेश चौरसियाको ज्यान गएपछि पर्सा प्रहरीले मुद्दा दर्ता नगरेको भन्दै ७ दिनदेखि बीरगंज अशान्त भएको थियो ।
आज पनि नेकपाका कार्यकर्ताले हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।
प्रहरीले हत्यामा संलग्न आरोपमा हनिफ अन्सारी र देवा सहनीलाई पक्राउ गरेको छ । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआइजी धीरजप्रताप सिंहका अनुसार घटनामा संलग्न अन्य चार जनाको खोजी जारी छ । तर नेकपाकै नेताहरुले भने प्रहरीले घटनाको अनुसन्धान निष्पक्ष नगरेको आरोप लगाउँदै आएका छन् ।

कात्तिक ६ गते गाउँपालिका कमिटीका पदाधिकारीको शपथ कार्यक्रम थियो । सोही कार्यक्रममा पूर्वसांसद एवं नेकपाका नेता राजकुमार गुप्ता पक्षले आफ्नो गुटलाई नबोलाएको भन्दै कार्यक्रम बिथोल्न खोजेको र सोही समूहले आक्रमण गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिइए पनि प्रहरीले त्यसलाई दर्ता नगर्दा एक हप्तादेखि दैनिक रुपमा प्रहरी कार्यालय अगाडी घेराउ, धर्ना र प्रदर्शन हुँदै आएको थियो ।
यसैविच मुकेश चौरसिया हत्या काण्डका अभियुक्त विरुद्ध पीडित परिवारले दिएको जाहेरी आज जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएसँगै नेकपा पर्साले ७ दिनदेखि गर्दै आएको आन्दोलन स्थगित गरेको छ ।
मुद्दा दर्ता भएसँगै भोलि विहान नारायणी अस्पतालमा मृतक चौरसियाको पोष्टमार्टम गरिने र दिउँसो १ः०० बजे अस्पतालबाटै शव यात्रासहितको जुलुसले नगर परिक्रमा पछि चौरसियाको गाउँ बहुअर्वाभाठामा शव पुर्याई अन्तिम दाह संस्कार गरिने कार्यक्रम रहेको नेकपा पर्साका जिल्ला सचिव विजय महतोले जानकारी दिनुभयो ।
मुद्दा दर्तासँगै अब किटानी जाहेरीमा परेका अभियुक्तलाई प्रहरीले पक्राउ गरी कारवाही नगरेमा आफूहरु पुनः कडा आन्दोलनमा उत्र्ने समेत महतोले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्