स्वरोजगार बन्दै दृष्टिविहीन युवा
राँझा– नेपालगञ्जमा दृष्टिविहीन युवा सामूहिकरूपमा मसला प्रशोधनमा लागेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० आदर्शनगरमा मसला प्रशोधन तथा प्याकिङ गरी उपभोक्ताको घरघरमै पुगेर बिक्री वितरण गर्ने गरिएको समूहका संयोजक ३३ वर्षीय समिप चौधरीले बताउनुभयो ।
उहाँका अनुसार गत असारदेखि शुरु गरेको यो व्यवसायमा १८ युवायुवती संलग्न रहेका छन् । बाँके, बर्दिया र दाङका दृष्टिविहीन र कम दृष्टि भएका युवायुवतीले गाउँमा उत्पादित मसलाको प्रशोधन एवं प्याकिङ गर्ने र त्यसलाई घरघरमै लगेर बेचिरहेका छन् ।
सशक्तिकरण युवा समूहमार्फत सङ्गठित भएर आत्मनिर्भरको लागि काम थालेको बाँके राप्तीसोनारी गाउँपालिका निवासी २३ वर्षीय आशाराम थारूले बताउनुभयो । समूहमा आवद्ध युवायुवतीले आफ्ना उत्पादनहरु लिएर गाउँगाउँमा पुग्छन् । त्यसबाट उपभोक्ताको रुचि र धारणा बुझ्न पाइरहेको थारूको भनाइ छ ।
उनीहरुले गाउँगाउँबाट धनिया, अदुवा, बेसारलगायत अग्र्यानिक मसला ल्याएर प्याकेजिङ गरी बेच्ने गरेका छन् । मसला पिस्नका लागि साना तथा घरेलु उद्योग कार्यालय बाँकेबाट अनुदानमा तीन थान मेसिन पाएका छन् । आफूहरुले नै मेसिन चलाउन सिकिसकेकाले विस्तारै मसला उद्योग नै सञ्चालन गर्ने योजना रहेको थारू बताउनुहुन्छ । काममा खटिनेलाई मसला बेचेर आएको मुनाफाबाट पारिश्रमिक पनि दिने गरिएको छ ।
आत्मनिर्भर नहुँदा परिवारका सदस्यले पनि बोझको रूपमा हेर्ने गरेकामा काम गर्न थालेपछि घरपरिवार र समाजको समेत सोचाइ फेरिएको उहाँले उल्लेख गर्नुभयो । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले दृष्टिविहीन युवाहरु आफैँ स्वरोजगार हुनु उदाहरणीय कार्य भएको बताउँदै सङ्घबाट आवश्यक सीप तथा सहयोगको पहल गर्ने उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्