मध्यपहाडी लोकमार्गमा कालोपत्रको काम सुरु

पर्वत । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रेको बाँकी काम सुचारु भएको छ ।
कोभिड १९ का कारण बिगत ६ महिनादेखि रोकिएको काम सुचारु भएको हो । यही वर्षको भदौमा काम सक्ने सम्झौता भएपनि कोभिड १९ का कारण चैतदेखि रोकिए पछि बअसारसम्ममा काम सक्ने सम्झौता भएर निर्माण कम्पनीले काम सुरु गरेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रमुख आशिष थापा मगरले जानकारी दिनुभयो ।
‘सबै स्टचर तयारी अवस्थामा रहेकोले अब धमाधम कालोपत्रेको काम हुने’ मगरले बताउनुभयो । कास्कीको नयाँपु देखि बागलुङको मालढुंगासम्मका पर्वत जिल्लाभित्र पर्ने २४ किलोमिटर खण्डमा अहिलेसम्म ६० प्रतिशत काम सकिएको छ । बाँकी काम पछिल्लो पटक थपिएको म्याद भित्रै काम सक्ने निर्देशनसहित निर्माण कम्पनी लामा कन्ट्रक्सनले कामदार र उपकरण परिचालन गरेको उहाँले जानकारी दिनुभयो ।
बागलुङको सिमाना मालढुंगोखि नयाँपुलसम्म करिब ५ किलोमिटर खण्ड गत वर्ष नै कालोपत्रे गरिएको थियो । अरू खण्डमा नाली निर्माण र गिटी बिच्छाएर सकिएको छ । बाढी र पहिरोका कारण त्यो खण्डमा केही ठाउँमा सडक बिग्रेका कारण केही क्षेत्रमा मर्मत गर्नुपर्ने अवस्था रहेको लामा कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोविन्दप्रसाद भुसालले बताउनुभयो । २०७४ सालको चैत बाट मध्यपहाडी लोकमार्ग स्तर उन्नतीको काम थालिएको थियो ।
पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सडकको अनुगमन गरी अहिलेसम्म जे जस्तो अवस्था भएपनि अब बिना अबरोध काम सक्न निर्देशन दिनुभयो । उहाँले स्थानीय स्तरमा देखिने समस्यालाई सहजीकरण गर्न प्रशासन तयार रहेको बताउँदै काम छिटो र गुणस्तरीय बनाउन आग्रह गर्नुभएको छ । मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्ड स्तरोउन्नतीका क्रममा पर्वतको कुश्माबजार खण्डको सडक चार लेनको बन्ने भएको छ । कुश्माको खरेहादेखि डम्डारेखोलासम्मको झण्डै २ किलोमिटर खण्ड चार लेनको बन्ने योजना तयार भएको छ । पहिले दुई लेनकै सडक बनाउने स्टिमेट भएपनि अहिले चार लेनको रुपमा स्तरउन्नती गर्ने निर्णय हुन लागेको आयोजना कार्यालयले जनाएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीव्र पारिरहेको छ ।
लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भइरहेको छ । बागलुङ, रुकुम, कास्की, पर्वत खण्डमा कोभिड १९ का कारण रोकिएको काम सुरु भैसकेको छ । २०५० सालमा निर्माण सम्पन्न भएको सडकका धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँ ठाउँमा जाम समेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँ ठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो ।







प्रतिक्रिया राख्नुहोस्