सप्तरीमा सुरक्षाकर्मी र कैदी बन्दीसहित आठ जनामा कोरोना सङ्क्रमण पुष्टि

सप्तरी, राजविराज । राजविराजस्थित रहेको सप्तरी कारागारमा सुरक्षार्थ खटिएका दुई प्रहरी र छ जना कैदी बन्दीसहित आज आठ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको सो कारागारमा संक्रमण फैलिएको खबरसँगै खैलाबैला मचेको छ ।
कारागारका निमित्त जेलर संजयकुमार रामका अनुसार केही दिन यता ज्वरो तथा स्वाशप्रश्वासमा समस्या देखिएकाहरुको पिसिआर परिक्षण गराउँदा छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।
एक सय २५ जना क्षमता रहेका कारागारमा हाल १५ महिलासहित तीन सय ३३ जना कैदी बन्दी राखिएको छ । जसकारण कोरोनाको जोखिम अझै बढेको छ भने कैदी बन्दीमा त्रास फैलिएको छ ।
जेलर रामले सङ्क्रमण पुष्टि भएका सबै पुरुष कैदी बन्दी रहेको र उनीहरूलाई छुटै कोठामा राखेर उपचार गर्ने तयारी भइरहेको बताउनुभयो ।
कारागार भित्र कसरी कोरोना संक्रमण फैलिएको भन्ने जिज्ञासाको जवाफमा उहाँले भन्नुभयो, “भेटघाटमा समेत कडाइ गरेका थियौँ, कसरी फैलियो बुझिनसक्नु भएको छ ।”
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले सङ्क्रमित कैदी बन्दीको छुटै व्यवस्थापनका साथै कारागार भित्र रहेका अन्य कैदी बन्दीको पनि स्वाब सङ्कलन गर्ने तयारी भइरहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्