तपाईँ सुन्दै हुनुहुन्छः

दिवसको अवसरमा बिपन्नलाई आर्थिक सहयोग

बैतडी । नेपाल निजामति कर्मचारी युनियन (संघ)को स्थापना दिवस बैतडीमा विपन्नलाई आर्थिक सहयोग तथा वृक्षारोपण गरेर मनाइएको छ । दिवसको अवसरमा नेपाल निजामति कर्मचारी युनियन (संघ)मा आवद्ध कर्मचारीहरुले खाजा खर्च कटाएर विपन्न तथा असहाय व्यक्तिहरुलाई सहयोग गरेको नेपाल निजामति कर्मचारी युनियन (संघ) जिल्ला सचिव अनिलबहादुर चन्दले बताउनुभयो ।

दिवसको अवसरमा जिल्लाको पाटन नगरपालिका ४ जेउडेका रमेश लावडको परिवारलाई ५ हजार, सुरक्षित महिला आवास गृहमा रहेका पीडित महिलालाई ५ हजार र दशरथचन्द नगरपालिका १० सतपालीमा रहेका टुहुरा बालबालिकाहरुलाई साढे ३ हजार रकम आर्थिक सहयोग गरिएको छ ।

नेपाल निजामति कर्मचारी युनियन (संघमा) आवद्ध व्यक्तिहरुको खाजा खर्च बाट कटाएर यो सहयोग गरेको चन्दले बताउनुभयो ।

पाटनका रमेश लावडको परिवार र सुरक्षित महिला आवस गृह (सेफ हाउस) मा रहेकी पीडित महिलाका लागि प्रमुख जिल्ला अधिकारीलाई सहयोग रकम हस्तान्तरण गरिएको र प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित व्यक्तिहरुलाई प्रदान गरिने नेपाल निजामति कर्मचारी युनियन (संघ) कार्यवाहक अध्यक्ष नैनसिंह कार्कीले जानकारी दिनुभयो ।

यस्तै सतपालीका टुहुरा बालबालिकाका लागि दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापालाई रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । दिवसको अवसरमा जिल्ला कारागार परिसरमा वृक्षारोपण समेत गरिएको छ ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी, सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाह, नेपाली सेनाको हनुमानध्वज गुल्मका गुल्मपति, नेपाल निजामति कर्मचारी युनियन (संघ)मा आवद्ध कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button