तपाईँ सुन्दै हुनुहुन्छः

बुढिगंगा नदीमा निरन्तर पहिरो खस्न थालेपछि थुनिने खतरा

अछाम  । बाजुरा र अछाम भएर बग्ने बुढीगंगा नदीले खतरा निम्त्याउँदै गैरहेकाे छ । बाजुराको बुढिगंगा नगरपालिका र त्रिवेणी नगरपालिका, अछामको मेल्लेख गाउँपालिका, साँफेबगर नगरपालिका र मंगलसैन नगरपालिका हुँदै बग्ने बुढिगंगा नदीमा निरन्तर पहिरो खस्न थालेपछि नदी थुनिने खतरा बढेको छ ।

यसबाट बाजुरा र अछामका दर्जनौँ बस्ती बाढीको खतरामा छन् । बाजुराको बूढीगंगा नगरपालिकाको अम्कोट र त्रिवेणी नगरपालिकाको वडा नम्बर ९ पैंमाबाट खसेको पहिरोका कारण बुढिगंगा नदी थुनिँदै गएको छ ।

लगातारको वर्षाका कारण माथिबाट पहिरो खस्ने क्रम नरोकिएपछि बाजुरा लगायत अछामका दर्जनौँ बस्ती बग्ने खतरा बढेको छ । पैंमाबाट पहिरो निरन्तर खसिरहेको र द्वारीमा एक सय मिटर जति सडक सतह भासिएर नदीमा खसेपछि नदीको आधा भाग थुनिएको छ ।

पहिरोको कारण नदीको आधा भाग पुरिएको छ । यस्तै नदीले अन्य भाग कटान गर्न थालेकाले स्थानीयहरू त्रसित छन् । नदी थुनिएपछि बाजुराको त्रिवेणी, वुढीगगंगा नगरपालिकासँगै अछामको साँफेबगर नगरपालिका,मंगलसैन र चौर पाटी गाउँपालिकाका केही वडा डुबानमा पर्ने खतरा देखिएको साँफेबगर नगरपालिकाका प्रमुख कु बहादुर कुँवरले बताउनु भयो । यस विषयमा अछामको जिल्ला समन्वय समितिले समेत अनुगमन गरिसकेको छ ।

बुढिगंगा नदीमा दुई वर्षदेखि लगातार पहिरो खसेर नदी थुनिन लाग्दा पनि समेत सरकारी निकायले खासै ध्यान नदिएको स्थानीयको आरोप छ । तर, पहिरो निरीक्षणमा बुढिगंगा नदीमै पुगेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले भने नदी नियन्त्रण तथा व्यवस्थापनका लागि तीन करोड बजेट विनियोजन गरेको बताउनुभयो । नदीको दुवै तर्फबाट सुख्खा याममा पनि पहिरो खस्ने क्रम जारी रहेकाले नदी साँघुरो हुँदै गएको छ ।

साथै नदीले मेल्लेख, साँफेबगर, चौर पाटीका सयौँ रोपनी खेतीयोग्य जमिन समेत बगाउने गरेको छ । साफे एयरपोर्ट बजार तथा झोलुङ्गे पुल बजार क्षेत्र बर्सेनि बाढीको चपेटामा पर्ने गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button