तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीका किसानलाई सलहको चिन्ता

कैलाली– कोरोना कहरले मारमा परेका कैलालीका किसानलाई भारत हुँदै आएको सलह किराले थप चिन्ता बढाएको छ । कृषि पेसा अङ्गालेका यहाँका अधिकांश किसानहरू सलहले सखाप पार्ने हो कि भन्ने चिन्तामा छन् । अहिले सम्म सुदूरपश्चिम प्रदेशमा सलह किरा नआएपछि अन्य ठाउँमा आएका कारण त्रसित भएको धनगढी उपमहानगरपालिका १९ बगुलियाका किसान हरिचन्द्र चौधरीले बताउनु भयो ।
‘अहिले सम्म यता त पुगेको छैन’ उहाँले भन्नु भयो, ‘भारतबाट आएको किरा यहाँ नआउँदा भन्न सकिन्न । हामी चिन्तित छौँ ।

मध्य नेपाल सम्म आइपुगेको किरा सुदूरपश्चिम प्रदेश प्रवेश गरे ठुलो क्षति बेहोर्नु पर्ने भन्दै किसानहरू त्रसित बनेका हुन् । सरकारले मात्रै सलह नियन्त्रण गर्न नसक्ने भन्दै कैलालीका किसानहरूले सरकारसँगै सहकार्य आफूहरू पनि नियन्त्रणमा अघि बढ्ने बताएका छन् ।
‘तीनै तहको सरकारसँगै किसान पनि सक्रिय हुन आवश्यक छ’ धनगढीकै किसान धन बहादूर चौधरीले भन्नु भयो ‘अब सरकारले मात्रै गरेन भन्नु भन्दा हामी पनि लाग्न जरुरी छ ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश कृषि निर्देशनालय सहितका निकायहरू सहभागी एउटा द्रुत उद्धार टोली समेत गठन गरेको छ । त्यो टोलीले कैलालीको ४ वटा स्थानीय तहमा यसबारे तयारी समेत थालेको छ। कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले  सलह नियन्त्रणको लागि तयारी अवस्थामा रहेको बताउनु भयो ।

‘ठुलो सङ्ख्यामा सलह आएको छैन त्यसैले ठुलो जोखिम छैन’ उहाँ भन्नुहुन्छ तर , किसानको क्षति हुन नदिन हामी लागिरहेका छौँ ।’
सलह नियन्त्रण गर्न सुदूरपश्चिम प्रदेश सरकारले सलह मारेर ल्याउनेलाई पुरस्कृत गर्ने रणनीति लिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले प्रति किलो २५ रुपैयाँका दरले पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button