तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना रोकथाम कोषमा सहयोग बढ्दै

अछाम । अछामको मंगलसेन नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार प्रकोप व्यवस्थापन कोषमा बाह्य सहयोग हालसम्म दुई लाख बढी रकम जम्मा भएको छ ।

नगरपालिकाले ३० लाख रकम विनियोजन गरि कोष स्थापना गरेपछि अहिले व्यक्तिगत तथा संस्थागत रुपमा राहत कोषमा आर्थिक रकम जम्मा हुन थालेको हो ।

हालसम्म मंगलसेन नगरपालिकाको राहत कोषमा दुई लाख आठ हजार चार सय २० रकम नगद जम्मा भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले ब्यक्तिगत रुपमा एक लाख पाँच हजार जम्मा गरेर अभियानको थालनी गरेपछि अहिले राहत कोषमा रकम जम्मा गर्ने संख्या बढिरहेको छ ।

राहत कोषमा मंगलसेन बजारमा रहेको फुलेश्वर फर्निचर उद्योगका संञ्चालन अरुण कुमार शर्माले ५५ हजार पाँच सय ५५, केपि स्टोरका सञ्चालक वेदराज ढुगाँनाले २५ हजार पाँच सय ५५, भुवन स्टेशनरी स्टोरका सञ्चालक भिम बहादुर रावल र ईश्वर रावलले १५ हजार पाँच सय ५५, लक्ष्मी होटलका सञ्चालक नेत्र बहादुर शाहीले पाँच हजार एक सय ५५, उत्पिडित उत्थान तथा चेतना विकास मञ्च अछामले पाँच हजार एक सय र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रका टंक भण्डारीले एक हजार रकम राहत कोषमा जम्मा गर्नु भएको छ ।

त्यसैगरी जिन्सि रुपमा भानुज फर्निचर उद्योग मंगलसेनका विष्णु स्वारले १० थान कम्मल प्रदान गर्नुभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button