प्रधानमन्त्रीद्वारा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम बारे राष्ट्रपतिलाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र अघि बढाएका कार्यक्रमबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउनु भएको छ ।
मन्त्रिपरिषद्को बैठकपछि मंगलबार साँझ शीतल निवास पुग्नु भएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को निर्णय, सरकारका प्रयास र कोरोना नियन्त्रण रणनीतिबारे राष्ट्रपतिलाई अवगत गराउनु भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले देशमा लकडाउन लम्ब्याइएको, परीक्षणको दायरा बढाइएको, सीमामा कडाई गरिएको, अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था गरिएको र नेपाल बाहिर रहेका नेपालीहको अवस्थाबारे कुटनीतिक तवरबाट प्रयास भैरहेको राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो ।
त्यसक्रममा राष्ट्रपति भण्डारीले सरकारका प्रयासहरुको प्रशंसा गर्नुहुँदै कोरोनाविरुद्ध सबै नेपाली एकजुट भएकोमा गौरबको अनुभूति भएको बताउनुभयो । उहाँले जनतालाई परेको अप्ठेरो न्यून गर्दै जनताको दैनिक जीवन सहज बनाउन सरकारको थप भूमिका अपेक्षित रहेको सुझाव दिनु भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. अधिकारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्