तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग संघद्वारा जिसस मकवानपुरलाई खाद्यान्न सामग्री उपलब्ध

मकवानपुर । उद्योग संघ मकवानपुरले आइतबार जिल्लावासीका लागि भनेर जिल्ला समन्वय समिति (जिसस) मकवानपुरलाई खाद्यान्न सामग्री (राहत) उपलब्ध गराएको छ ।

संघका अध्यक्ष लेखराज पोखरेललगायत पदाधिकारीले हेटौंडा औद्योगिक क्षेत्रमा रहेका उद्योगि एवम् अन्य उद्योगिहरुबाट खाद्य सामग्री संकलन गरेर आज जिसस प्रमुख रघुनाथ खुलाललाई हस्तान्तरण गरेको हो ।

संघले १० हजार किलो चामल, चारसय किलो दाल, चारसय किलो नुन, चारसय पीस साबुन र २० लिटर सेनीटाइजर जिल्ला समन्वय समितिलाई उपलब्ध गराएको हो ।

कोरोना भाइरस (कोभिड–१९)को कारण देश लकडाउन भएपछि जिल्लामा दैनिक जीवन यापनमा समस्या परेकालाई सहयोग पुगोस् भन्ने उदेश्यले खाद्यान्न प्रदान गरेको जनाइएको छ ।

अप्ठ्यारो अवस्थामा सामाजिक उत्तरदायित्व सम्झेर राहतस्वरुप जिल्लावासीका लागि खाद्यान्न उपलब्ध गराइएको संघका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

उहाँले जिल्ला समन्वय समितिमार्फत सम्पुर्ण जिल्लावासीमा राहत पुग्ने हुनाले सामग्री जिससलाई हस्तान्तरण गरिएको समेत बताउनुभयो ।

सो अवसरमा जिसस प्रमुख खुलालले विपत्तीका बेलामा उद्योग संघले गरेको सहयोग प्रति जिल्लाका सम्पुर्ण निर्वाचित जनप्रतिनिधिहरुका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले प्राप्त खाद्यान्न लकडाउनको समयमा दैनिक जीवनयापन गर्न समस्या भएकालाई स्थानीय तहमार्फत एकद्वार प्रणालीबाट प्राप्त खाद्यान्न वितरणको व्यवस्था गर्ने बताउनुभयो ।

प्रमुख खुलालले अप्ठ्यारोमा परेका श्रमिकलाई बढी प्राथमिक्तामा राखेर सरकारको निति बमोजिम राहत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत आउने अप्ठ्याराहरुमा सहकार्यको लागि आग्रह गर्नुभएको छ ।

उहाँले लकडाउनका समयमा सबै तिर अप्ठ्यारो रहेको र उद्योग क्षेत्रमा समेत अप्ठ्यारो र जटिलता रहेको भन्दै सरकारले यस विषयमा खास निति बनाउने पर्ने भन्दै संघीय र प्रदेश सरकारसँग सो विषयमा समन्वय गर्ने समेत बताउनुभएको छ ।

यसअघि जिससलाई उद्योग परिसंघ बागमती प्रदेश समितिले प्रदेश सरकारमार्फत जिसस महासंघ बागमती प्रदेश अध्यक्ष एवम् जिसस मकवानपुर प्रमुख खुलाललाई १० हजार किलो खाद्यान्न सहयोग गरेको थियो ।

प्राप्त खाद्यान्न चितवन, मकवानपुरलगायत प्रदेशका १३ वटै जिल्लामा वितरण समेत भइरहेको छ ।

खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा उद्योग परिसङ्घ बागमती प्रदेशका संयोजक ऋषिराम घिमिरे, उद्योग संघ मकवानपुरका निर्वतमान अध्यक्ष नवराज अर्याल, पुर्व अध्यक्षलगायत उद्योगपतीहरु, हेटौंडा–८ र ९ का वडा अध्यक्ष, हेटौंडा औद्योगिक क्षेत्रका व्यवस्थापक, शसस्त्र प्रहरी नायव उपरिक्षकलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button