तपाईँ सुन्दै हुनुहुन्छः

अस्पतालले भर्ना नलिएपछि कपिलवस्तुमा एक महिलाको मृत्यु

कपिलवस्तु । कोरोना भाइरसको त्रासले गर्दा कपिलवस्तुमा उपचार नपाएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ७ रंगपुरकी अन्दाजी ३६ बर्षीय कलामुन निशाको उपचार नपाउँदा मृत्यु भएको हो ।

आइतबार राति ज्वरोले च्यापेपछि निशालाई नीजि सवारीको सहायताले कपिलवस्तु अस्पताल तौलिहवा ल्याइएको थियो । त्यहाँ अस्पतालले भर्ना गर्न नमानेपछि विरामीका आफन्तले उनलाई तत्काल भैरहवा लगेका थिए ।

भैरहवा मेडिकल कलेजले पनि उनलाई भर्ना नलिएपछि पुनः कपिलवस्तु अस्पताल ल्याएको मृतकका छिमेकी अब्दुल मोहित खाँले जानकारी दिनुभयो । भैरहवाबाट पुनः दोस्रो पटक पनि कपिलवस्तु अस्पतालले भर्ना गर्न नमानेपछि विरामीका आफन्तले निशालाई घर लगेको खाँले बताउनुभयो ।

विरामीका आफन्तले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेललाई गुहारेपछि कपिलवस्तु अस्पतालले भर्ना गर्ने आशामा लैजादा अस्पताल परिसरबाटै चिकित्सकले मृत घोषणा गरिदिएको मृतकका ससुरा सरिफ खाँले जानकारी दिनुभयो ।

मृतक निशालाई तीन दिन पहिला सामान्य ज्वरो आएर तौलिहवास्थित एक मेडिकलबाट औषधि खाएको खाँले बताउनुभयो । सामान्य टाईफाइट भएको भन्दै स्थानीय मेडिकलले दिएको र त्यो औषधिले काम नगरेपछि उनलाई आइतबार राति अस्पताल ल्याइएको उहाँले बताउनुभयो । उनलाई ज्वरोले च्याप्दै लगेपछि अस्पताल ल्याएको भएपनि चिकित्सकले भर्ना नलिदा आफ्नो बुहारीको अकालमा ज्यान गएको उहाँले गुनासो गर्नुभयो ।

सामान्य ज्वरो आएका विरामीलाई अस्पतालले भर्ना नगर्दा अकालमै महिलाको ज्यान गएको गाउँपालिकाका वडा सचिव हलिम मुसलमानले पनि बताउनुभयो । चिकित्सकले विरामीलाई भर्ना गरेको भए ज्यान जाने स्थिती आउने थिएन होला मुसलमानले भन्नुभयो ।

कपिलवस्तु अस्पतालका मेसु डा. किशोर बञ्जाडेसँग मृतकका बारेमा बुज्न खोज्दा आफु फिल्डमा रहेकोले अस्पतालमै आएर कुराकानी गर्ने बताउनुभयो । यो विषयबारे कुरा राख्दा डा. बञ्जाडेले विरामीको बाटोमै मृत्यु भईकेको स्विकार गर्नुभयो ।

उता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले विरामीलाई अस्पतालले भर्ना नगरेको भन्ने गुनासो आफुलाई आज बिहानमात्र आएको बताउनुभयो । यो सुनेपछि आफुले कपिलवस्तु अस्पताललाई भर्ना गरेर उपचार गर्न निर्देशन दिएको बताउनुभयो । अहिले विरामीको मृत्यु भईसकेको भन्ने आफुलाई थाहा नभएको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको त्रासले गत हप्ता मात्र वाणगंगाको पिपरा अस्पतालले विरामीलाई हेर्दै नहेरी बुटवल पठाएको थियो । बुटवल बेवारिसे छाडेर अस्पतालको एम्बुलेन्स फर्किएको थियो । अर्को दिन विरामी रातभर हिडेर पुनः पिपरा आएको घटना बाहिरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button