अर्थमन्त्रीमा युवराज खतिवडा नियुक्त, आज अपराह्न ४ बजे सपथ

काठमाडौं । राष्ट्रियसभाको कार्यकाल सकिएलगत्तै राजिनामा दिनुभएका अर्थमन्त्री डा. युवराज खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गर्नुभएको हो ।
मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गर्नुभएको हो ।
खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा खतिवडालाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।
नवनियुक्त अर्थमन्त्री खतिवडालाई आजै राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ ।
खतिवडाले राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार मन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
संविधान अनुसार, खतिवडा अब ६ महिनासम्म अर्थमन्त्री रहन सक्नुहुनेछ । संविधानमा सभासद् नरहेको अवस्थामा पनि ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था अनुशार खतिवडा मन्त्रीमा पुनः नियक्त हुनुभएको हो । राष्ट्रपति भण्डारीले उहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभारसमेत तोक्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्