तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकको पहिलो रोजाइ तालपोखरामा डुङ्गा दौड हुँदै

पाल्पा-भ्रमण वर्ष २०२० का अवसरमा पाल्पा रामपुरको पर्यटकीय स्थल तालपोखरामा यही फागुन ८ गते डुङ्गा दौड प्रतियोगिता आयोजना हुने भएको छ । एक सय पर्यटकीय गन्तव्यस्थलमा तालपोखरा समावेश रहेको छ । तालपोखरा संरक्षण विकास समितिद्वारा आयोजना हुने सो प्रतियोगिताका सहभागीले काठको मात्र डुङ्गा प्रयोग गर्नुपर्ने हुन्छ ।

एक डुङ्गामा दुई जनाले मात्र सहभागीता जनाउन पाउनेछन् । भ्रमण वर्षलाई सफल बनाउन र रामपुरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन तालपोखरामा डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले रु सात हजार, द्वितीय रु पाँच हजार, तृतीय पुरस्कार रु तीन हजार प्राप्त गर्नेछन् । समितिले गतवर्ष पनि डुङ्गा दौड प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगिताका लागि अहिले तालपोखरा वरपरको वातावरण सरसफाइ गर्ने कामहरु भइरहेको छ ।

फागुन ९ गते शिवरात्री पर्वका अवसरमा डुङ्गा दौड र अन्य दिन रामपुर क्षेत्रका प्रचलित भजनकृत, पूजापाठ, सांस्कृतिक कार्यक्रम गरेर मनाइने तयारी रहेको समितिले जनाएको छ । रामपुर घुम्न आउने तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने कमै हुन्छन् ।

यहाँ आएका पर्यटकको पहिलो रोजाइ र घुम्ने थलोनै अहिले तालपोखरा बनेको छ । फेवातालको स्वरुपमा रहेको तालपोखराले आकारमा सानो भए पनि छोटो समयमा नै पर्यटकको मन लोभ्याउन सफल भएको छ । विभिन्न सञ्चारमाध्यममा आएका समाचार सुनेर, हेरेर तालपोखरा आउने आन्तरिक पर्यटकको उपस्थिति दिनहुँ बढ्दै गएको छ ।

यो वर्ष रामपुर नगरपालिकाले रु २० लाख र नेपाल पर्यटन बोर्डबाट स्तरोन्नति शीर्षकमा रु २० लाख सहयोगको रकमबाट तालपोखराको स्तरोन्नति गरिएको हो । करिब रु ४५ लाख बराबरको मर्मत कार्य सम्पन्न भएको छ भने अब बाँकी अझै रु एक करोड २५ लाखको काम रहेको समितिले जनाएको छ । अहिलेसम्म तालपोखराको पर्यटन विकासमा करिब रु तीन करोडको काम भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button