तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा ज्येष्ठ नागरिक सम्मान र प्रोत्साहन कार्यक्रमको शुभारम्भ

बिराटनगर । प्रदेश सरकारले ९० वर्ष पूरा गरिसक्नु भएका ज्येष्ठ नागरिकलाई सम्मान र प्रोत्साहन कार्यक्रमको शुभारम्भ गरेको छ ।

प्रदेश १ सरकार गठन भएको एकवर्ष पूरा भएको अवसरमा गतवर्ष घोषणा गरिएको ज्येष्ठ नागरिक सम्मान तथा प्रोत्साहन कार्यक्रम आज बिराटनगरबाट सुरु गरिएको हो ।

बिराटनगर महानगरपालिकामा बसोबास गर्दै आउनु भएका चारजना ज्येष्ठ नागरिकलाई मुख्यमन्त्री शेरधन राईले दोसल्सा ओढाएर नगद पाँचहजार रुपिँयासहित फलफुलको जुस दिनु भएको थियो ।

बिराटनगर–७ निवासी एक सय चार बर्षिया चित्रलेखा श्रेष्ठ, बिराटनगर–३ निवासी एक सय वर्षिया कृष्णमाया खड्का, नारायणप्रसाद रेग्मी र बिराटनगर–९ निवासी शुभकुमारी उपाध्यायलाई मुख्यमन्त्री राईले सम्मान गर्दै प्रोत्साहन रकमको रुपमा पाँच हजार रुपिँया दिनु भएको हो ।

प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले यो कार्यक्रम एक ३७ स्थानीय तहमार्फत कार्यन्वयनमा ल्याउने छ । स्थानीय तहमा ९० वर्ष पूरा गरिसक्नु भएका ज्येष्ठ नागरिकका लागि सम्मानको कार्यक्रम गरी प्रोत्साहन रकम वितरण गर्नेछन् ।

सरकारले स्थानीय तहमा प्रोत्साहन रकम पठाउनका लागि तथ्यांक माग गरिसकेको छ । अहिलेसम्म ४३ स्थानीय तहबाट दुईहजार छ सय ज्येष्ठ नागरिकको तथ्यांक सामाजिक विकास मन्त्रालयलाई प्राप्त भईसकेको जानकारी दिइएको छ ।

कार्यक्रममा मुख्यमन्त्री राईले ज्येष्ठ नागरिकको सम्मान गर्नु तीनै तहका सरकारको कर्तव्य हुने बताउँदै संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो योजनामा ज्येष्ठ नागरिकको संरक्षण गर्ने बताउनुभयो । उहाँले २५ बर्ष अगाडी पूर्व प्रधानमन्त्री स्वर्गिय मनमोहन अधिकारीले सुरु गर्नु भएको कार्यक्रम विश्वमै नमूना रहेको बताउँदै त्यसलाई अझै उचाईमा पु¥याउने बताउनुभयो ।

प्रदेशभरीका ज्येष्ठ नागरिकलाई प्रोत्साहनसँगै दाँत उपहार दिने कार्यक्रम सरकारले अगाडी बढाएको बताउँदै उहाँले संघीयताको अनुभूति हुने गरिका योजना अगाडी सारिनेमा जोड दिनुभयो । संघीयताले राज्यको सेवा र सुविधा प्रत्येक नागरिकको घरसँग जोडेको बताउँदै मुख्यमन्त्री राईले ज्येष्ठ नागरिकको गुनासो सुन्ने संयन्त्र बनाएर आगनमै पठाउने दावी समेत गर्नुभयो ।

यसैगरी सामाजिक विकास मन्त्री जीवन घिमिरेले मन्त्रालयले ज्येष्ठ नागरिकको अवस्था अध्ययनका लागि कार्यदल बनाएर सुझाव संकलन गरिसकेकोले आगामी दिनमा त्यसैका आधारमा ऐन ल्याउने बताउनुभयो । सरकारसँग ज्येष्ठ नागरिकको तथ्यांक संकलन भईसकेको बताउँदै कानुनले तोकेका अधिकारको सुनिश्चित गरिने दावी गर्नुभयो ।

प्रदेश सरकारले मोरङको ग्रामथानमा ज्येष्ठ नागरिक ग्राम निर्माणको प्रक्रिया बढाईसकेको बताउँदै प्रत्येक स्थानीय तहमा सेवा केन्द्र स्थापना गरिने बताउनुभयो । यसैगरी अस्पताल र यातायातमा ज्येष्ठ नागरिकले पाउने सुविधा कार्यन्वयनमा कडाई गरिएको बताउँदै मन्त्री घिमिरेले कसैले तोकिएको सुविधा नदिए नजिकको प्रहरी वा मन्त्रालयमा सम्पर्क गर्नका लागि अपिल समेत गर्नुभएको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिक प्रदेश १ का अध्यक्ष भवानी शेखर दाहालले प्रदेश सरकार वर्तमान सरकार ज्येष्ठ नागरिकप्रति उद्दार रहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई प्रोत्साहन र सम्मानसँगै उनीहरुको अनुभवलाई व्यवहारिक रुपमा प्रयोग गर्नका लागि आग्रह समेत गर्नुभयो । मोरङका अध्यक्ष जगत अर्जेलले नेपालमा ज्येष्ठ नागरिकको सम्मान विश्वमै नमूना रहेको बताउनुभयो । उहाँले मनमोहन अधिकारीले सुरु गर्नु भएको उदार विचारले नेपालमा ज्येष्ठ नागरिकको दुःख सरकारसँग बाँडिने गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button