तपाईँ सुन्दै हुनुहुन्छः

समयमै काम सम्पन्न नगर्नेसंँग ठेक्का रद्द

राँझा। बाँकेको जानकी गाउँपालिकाले समयमै काम सम्पन्न नगर्ने दुई ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा सम्झौता भई हालसम्म काम सम्पन्न हुन नसकेको सम्झौता गाउँसभाबाटै रद्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँसभाबाट इशा निर्माण सेवा र सुनिता निर्माण सेवासँगको ठेक्का सम्झौता रद्द गर्ने प्रस्ताव पारित गरेको हो । इशा निर्माण सेवाले गाउँपालिकाको वडा नं ६ मा सडक ग्राभेल तथा सुनिता निर्माण सेवाले वडा नं २ मा सडक ढलान तथा नाली निर्माणको ठेक्का सम्झौता गरेका थिए ।

आव २०७४÷७५ मा सम्झौता भएकामा काम सम्पन्न गर्न बारम्वार आग्रह गर्दा पनि अटेर गरेकाले काम सम्पन्न भएको भुक्तानी गरी ठेक्का रद्द गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख इञ्जिनीयर निसार अहमद दर्जीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष रामनिवास यादवले सुखी नेपाल समृद्ध नेपाल र प्रदेश सरकारको सुखी जनता, समृद्ध प्रदेशको मूल नारालाई आत्मसाथ गर्दै गाउँपालिकावासीको सुखी र समृद्धिका लागि विभिन्न विकास निर्माणका योजनाहरु कार्यान्वयन गर्दै आएको जानकारी दिनुभयो ।
शिक्षा, स्वास्थ्य, महिला बालबालिका ज्येष्ठ नागरिक, दलित तथा जनजातिको समावेशी र सहभागितामूलक योजना तर्जुमा पद्धतिको अवलम्बन गरी प्राथमिकताका योजना छनोट गरी कार्यान्वयन गर्दै आएको उहाँले बताउनुभयो ।

गाउँपालिकामा चार दशमलव आठ किलोमिटर पिसीसी ढलान सडक निर्माण, १२ किलोमिटर ग्राभेल, पाँच दशमलव पाँच किलोमिटर नयाँ निर्माण, २०० मिटर कालोपत्र, चार कल्भर्ट, एक दशमलव पाँच किलोमिटर नाला, तीन नयाँ विद्यालय भवन निर्माण र गाउँपालिकाको सभाहल निर्माणलगायतका काम सम्पन्न भइसकेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button