रोकी राखेको बस पल्टिदा एक वृद्धको मृत्यु

दोलखा – दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोच ठूलिनागीमा बुधवार विहान भएको बस दुर्घटनामा संगै यात्रा गरेको जीवन संगिनीको मृत्यु भएपछि बैतेश्वरका गोले तमाङ एक्लो भएका छन् । बुढेसकालमा सहारा छिनिएपछि उनी दुर्घटना स्थलमै भक्कानिएरका छन् ।
दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर २ मिर्गेबाट विहान ७ बजेको बस चढेर श्रीमती ७० बर्षिय कुमारी तमाङसंगै गोले तमाङ काठमाडौँको लागि हिडेका थिए । तर उनलाई के थाहा केही घण्टाको यात्रा पछिनै बुढेसकालको सहारा आफ्नो जीवन संगिनी गुमाउनु पर्छ भनेर । दुर्घटना स्थलमा बसले चेपेर श्रीमती कुमारीको मृत्यु भएपछि श्रीमतीको शव हेरेर भक्कानी रहेका गोलेको केही भन्न बोली समेत फुट्न सकेको छैन् ।
मिर्गेबाट बुधवार बिहान ७ बजे काठमाडौँको लागि छुटेको बा ३ ख २९९७ नम्बरको गौरीशङ्कर यातायातको बस सदरमुकाम चरिकोटबाट १० बजे छुटेको थियो । बिहान करिब ११ बजे भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा पुगेपछि बसमा डिजेल सकिएको थियो । सडकमा साईड लगाएर राखिएको बस एक्कासि फलामको ओत नाघेर गुडेपछि सडकमै पल्टिएको थियो ।

रोकिएको बसमा चार जना रहेकोमा बस गुड्न लागेपछि अतालिएर उत्रने क्रममा बृद्धा कुमारी तमाङको सोही बसले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।
बसबाट उत्रने क्रममा दुई बर्षको बालक छिरिङ दुण्डु तमाङ घाईते भएको र उनको सदरमुकाम चरिकोटस्थित सामुदायीक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा १० जना यात्रु रहेकोमा अन्य यात्रु भने बस रोकिएपछि पहिलेनै उत्रिएको यात्रु रेखा शिवाकोटीले बताउनुभयो । बस गुड्न लागेपछि चालकले रोक्ने प्रयत्न गरेको तर सम्भव नभएपछि उनी भागेको शिवाकोटीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्