तपाईँ सुन्दै हुनुहुन्छः

दाजु दिदीबहिनीको प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा आज सम्पन्न हुदैँ

सर्लाही – दाजु दिदीबहिनीको प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्व आज समपन्न हुँदै छ । सर्लाहीको चन्द्रनगर, लालबन्दी ,इश्वरपुर, गोडैता, मलंगवालगायत सर्लाहीको हरेक ठाउसहित तराईका जिल्ला भरी नै जोतिएको खेतमा गई समाचकेवा पर्वको समापन्न गरिने भएको छ ।

कात्तिक शुक्ल द्वितिया तिथि अर्थात भाइटिकाको दिनदेखि तयारी सुरु भएको सामाचकेवा पर्वको सोमबार साँझ समपन्न हुने भएको छ ।

दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकको रुपमा रहेको यो पर्वमा माटाका बिभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर पुजापाठ गरेर मनाइन्छ । भाइटिकाका दिन नै मूर्ति बनाउनका लागि माटो ल्याएर राख्ने भएकाले उक्त दिनलाई विधिवत रुपमा पर्वको शुभारम्भ भएको मानिएको हो ।

यो पर्व मैथली र थारु समुदायका किशोरी तथा महिलाहरुले मनाउने गर्छन । ग्रामीण क्षेत्रमा यो पर्वको अझैं लोकप्रियता कायम छ भने तराईका शहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा कमी आएको महशुस गर्न थालिएको हो । काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा’ भनिन्छ । भगवान कृष्णकी सुपुत्रीको नाम सामा थियो । भगवान कृष्णले आफ्नी छोरीलाई ‘चरा’ बन्ने श्राप दिएपछि पुनः मानव योनीमा फर्काउनमा सामाका भाई साम्बले खेलेको भूमिकाको विषय यस पर्वसँग जोडिएको छ ।

सामाकी नोकरानी डिहुलीले सामा बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाईन् । भगवान कृष्ण रिसाएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिए । सामाको भाई साम्बले यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिहरुलाई श्रापबाट मुक्त गरे ।

भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अकदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसका दाजुभाइ दीर्घायु हुने बरदान दिएकाले यो पर्व मनाउन थालिएको भविष्यपुराणमा उल्लेख गरिएको छ ।

यस पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्तिहरु बनाउने कार्यको थालनी हुन्छ । सो दिन सिरी सामा, दोश्रो दिन चकेवाका साथै एक पातीमा बसेका सातवटा चरा जसलाई सतभैंया भनिन्छ, त्यसपछि क्रमिकरुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखवाला चरा, भाग्य चक्रका कारण विमुख भएका दाजुबहिनीको मूति बनाइन्छ । यसका साथै बृन्दावन जङ्गल, झुठो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरुलाई बिभिन्न रङमा रङ्गाउने कार्य गरिन्छ ।

यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीहरुले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाईको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ । सोही क्रममा आफुलाई चाहिएका सर–सामानहरु पनि गीतको माध्यमबाट सुनाउने प्रचलन पनि रहेको छ । त्यसपछि, कात्तिक पूर्णिमाको मध्यरात्रिमा किशोरी तथा महिलाहरुले आ–आफ्ना घरबाट गीत गाउँदै चौंबाटोमा भेला भएर पर्वको अन्तिम रुप दिने गर्छन् ।

सो अवसरमा सबैभन्दा पहिले भाईले सामा फोडेपछि चुगला र बृन्दावन जलाइन्छ । एक अर्कासँग मूर्तिहरु साटासाट गरेर घर फर्कने क्रममा पुनः गीत गाउँदै आँगनमा पुगेर ‘झुम्मरी’ गीत गाएर पर्वको समापन गरिन्छ ।

यस पर्वमा प्रसादको रुपमा नयाँ धानको चिउरा, दही, मिठाईका साथै नयाँ धानको बाला समेत राख्ने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button