तपाईँ सुन्दै हुनुहुन्छः

एकिकृत बस्ती निर्माणमा आर्थिक तथा नीतिगत समस्या

दोलखा – भुकम्पपछि एकिकृत बस्तीको सपना देखेका भीमेश्वर नगरपालिका वडा नम्बर ४ फस्मे र डिहिका स्थानीय आर्थिक तथा नीतिगत समस्याका कारण अहिलेसम्म पनि टहरामै बस्न बाध्य भएका छन् ।

स्थानीयको पहलमै एकिकृत बिस्ती निर्माणमा सक्रिय फस्मेमा झण्डै ९० प्रतिशत काम सकिएको छ भने डिहिमा करिब ३० प्रतिशत काम सकिएको छ । फस्मेमा आवश्यक पुर्वाधार तयार भईसकेको र जग्गा प्लटिङ गरी व्यक्तिको नाममा लालपुर्जा ल्याएर घर बनाउने प्रकृया सुरु गर्ने तहमा पुगेको भएपनि राजश्य सम्बन्धि समस्याले थप काम अगाडि बढ्न नसकेको जिलु एकिकृत बस्ती निर्माण समितिका अध्यक्ष अर्जुन चौलागाईले बताउनुभयो ।

फस्मे र डिहिमा गरी ६२ रोपनी क्षेत्रफलमा एकिकृत बस्ती निर्माण भईरहेको छ । उक्त जग्गा कसैको धेरै र कसैको थोरै गरी बिभिन्न व्यक्तिको नाममा रहेको र त्यसलाई एकिकृत गरी पुनः घर निर्माण गर्ने भुकम्प पीडितहरुको नाममा बराबरी पास गरी लालपुर्जा दिनुपर्नेमा उक्त प्रकृयाको लागि राजश्वको समस्या देखिएको अध्यक्ष चौलागाईले बताउनुभयो ।

बिभिन्न व्यक्तिको नाममा रहेको जग्गा एकिकृत गरी पुनः एकिकृत बस्तीमा घर बनाउने भुकम्प पीडितको नाममा पास गर्दा झण्डै ८ लाख राजश्व लाग्ने भएपछि समस्या देखिएको अध्यक्ष चौलागाई बताउनुहुन्छ । आफुहरुले उक्त रकम मिनाह गरी सहज ढङ्गले भुकम्प पीडितको नाममा लालपुर्जा दिनु पर्ने माग गरेको अध्यक्ष चौलागाई बताउनुहुन्छ ।

राजश्व सम्बन्धि समस्या समाधान गरेर लालपुर्जा वितरण भए फस्मेमा तत्कालै घर निर्माण सुरु हुने तर डिहिमा भने एकिकृत वस्तिको डिजाईनमै समस्या भएकोले त्यसमा सुधार गरेर आधारभूत काम अगाडि बढाउनु पर्ने एकिकृत बस्ती निर्माण समितिका सचिव मोती चौलागाई बताउनुहुन्छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुका वडा अध्यक्ष हरिबंश चौलागाई जग्गा पास गर्दा लाग्ने राजश्व सम्बन्धि समस्या समाधानको लागि प्रदेश सरकारसंग आग्रह गरिएको र छिट्टै प्रदेश सरकारले राजश्व मिनाहको लागि आवश्यक निर्णय गर्ने बताउनुहुन्छ । यदि प्रदेश सरकारले जग्गा रजिष्ट्रेशन पासको लागि लाग्ने राजश्व छुटको निर्णय नगरे भीमेश्वर नगरपालिकाले उक्त रकम दिएर भएपनि छिट्टै काम सक्ने र ढिलोमा पुष महिनाबाट फस्मेमा एकिकृत बस्तीको काम सुरु हुने वडा अध्यक्ष हरिबंश चौलागाईको भनाई छ । डिहिमा पनि तत्कालै काम अघि बढ्ने वडा अध्यक्ष हरिबंश चौलागाईले बताउनुभयो । एकिकृत बस्तीको पूर्वाधार निर्माणमा अझै तीन करोड भन्दा बढी रकम खर्च हुने भएकोले त्यसको व्यवस्थापनको लागि पुर्ननिर्माण प्राधिकरण, प्रदेश सरकार र नगरपालिकालाई समेत आग्रह गरिएको वडा अध्यक्ष हरिबंश चौलागाई बताउनुहुन्छ ।

एकिकृत बस्ती निर्माण भईरहेको फस्मेमा एक सय आठ घर र डिहिमा ७६ घर बनेको प्रमुख अर्जुन लामाले बताउनुभयो । त्यसको लागि पुर्ननिर्माण प्राधिकरणले सात करोड ३२ लाख खर्च गरीसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका प्रमुख इन्जिनियर अर्जुन तमाङ बताउनुहुन्छ । फस्मे र डिहिमा एकिकृत बस्तीको लागि सडक लगायतका आवश्यक पुर्वाधार तयारीमा झण्डै ११ करोड खर्च लाग्ने अनुमान गरिएकोमा पुर्ननिर्माण प्राधिकरणले सात करोड ३२ लाख उपलब्ध गराएको जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका लेखा प्रमुख भिमसेन मास्केले बताउनुभयो ।

एकिकृत बस्तीको लागि सडक लगायतका पूर्वाधार तयारीको काम गरेको महालक्ष्मी कन्सट्रक्सन प्रालिले फस्मेमा सडक लगायतको काम लगभग ९० प्रतिशत सकेको छ । बाल निर्माणको केही काम भने बाँकी रहेको छ । तर डिहिमा भने डिजाईन ठिक नभएको भन्दै स्थानियले गुनासो गरेपछि ३० प्रतिशत भन्दा बढी काम अगाडि बढ्न सकेको छैन् । डिहिका स्थानिय एकिकृत बस्ती निर्माणको लागि सहमत भएपनि अहिले भएको डिजाईनले भःूक्षयको खतरा देखिएकोले डिजाईन परिर्वतन गर्नु पर्ने पक्षमा रहेको एकिकृत वस्तिका सचिव मोती चौलागाई बताउनुहुन्छ । एकिकृत बस्ती निर्माणको काम अगाडि नबढेकोले डिहिका भुकम्प पीडित अहिले पनि अरुको जग्गामा भाँडा तिरेर टहरा बनाई बसिरहेको सचिव चौलागाई बताउनुहुन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button