प्रदेशसभा सदस्यका लागि भक्तपुरमा २१ जनाको उम्मेदवारी दर्ता

भक्तपुर –आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि ११ दल र १० स्वतन्त्रसहित २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट देवी प्रसाद (डिपी) ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नेकपाका सचिवालय सदस्य वामदेव गौतम, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेत, नेकपा जिल्ला अध्यक्ष बचन देउजालगायतको नेतृत्वमा कमलविनायकबाट निस्किएको बाजागाजासहितको र्याली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
त्यसैगरी नेपाली काँग्रेसको केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवं पूर्व संचारमन्त्री मोहन बहादुर बस्नेत, जिल्ला सभापति दुर्लभ थापासहितको नेतृत्वमा कमल विनायकबाट बाजागाजासहित र्याली गरेर कार्यालयमा आएर नेपाली काँग्रेस पूर्व क्षेत्रीय सभापति कृष्णलाल भँडेलले काँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यता नेपाल मजदुर किसान पार्टीले पार्टी सचिव एवं सांसद प्रेम सुवाल लगायतको नेतृत्वमा कमलविनायकबाट बाजागाजासहित र्याली प्रर्दशन गरी नेमकिपाको तर्फबाट निरज लवजूले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट रामशरण लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामप्रसाद नेपाल, साझा पार्टीबाट सुरज प्रधान, समाजवादी पार्टी सुर्दशन कुमार मुनंकर्मी, नेकपा मालेबाट सुर्दशन लामिछाने, नेपाली काँग्रेस (बि.पी.)बाट मधुसुदन न्यौपाने, आमूल परिवर्तन मसिहा पार्टीबाट डिल्लीप्रसाद चौलागाई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यसैगरी स्वतन्त्रतर्फ कृष्णप्रसाद ह्यामो, कृष्णराम पोतामाहा, जीवन नेपाली, अर्जुन कोजू, राकेश सुवाल, उत्तम शाखकर्मी, सुमना कार्की, जीवन चन्द्र अधिकारी, सुजाता देउजा, संगीता पौडेल आचार्यले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
२०७४ सालमा भएको निर्वाचनमा तत्कालिन एमालेबाट निर्वाचित हरिशरण लामिछानको मष्तिस्कघातबाट निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुने भएको हो ।








प्रतिक्रिया राख्नुहोस्