तपाईँ सुन्दै हुनुहुन्छः

राजस्व छलिको ३८ बोरा चिनीसहित कलैयाका दुई व्यापारी पक्राउ

बीरगंज – अवैध रुपमा राजस्व छलि भारतबाट भित्र्याई गोदाममा राखिएको ३८ बोरा चिनीसहित बारा कलैयाका दुई जना किराना व्यवसायीलाई प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर २५ निवासी दिनेश पाण्डे र रमेश तिवारीलाई राजस्व छलेर भित्र्याईएको चिनीसहित पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । व्यापारी पाण्डे र तिवारीले कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा कोठा भाडामा लिएर चोरी पैठारीको चिनी लुकाई छिपाई राखेको अवस्थामा बारा प्रहरीले असोज २४ गते छापामारी गरि चिनी बरामद गरेको थियो ।

अभियुक्तहरुले भारतीय चिनी नेपाल भित्र्याई नेपाली चिनीको बोरामा खन्याएर नेपाली भन्दै बिक्री वितरण गर्दै आएको अनुसन्धानको क्रममा खुलेको छ । छापामारीको क्रममा प्रहरीले भन्सार छली भित्र्याईएको १ लाख ५० हजार मुल्य बराबरका ३८ बोरा चिनी, बोरा सिलाउने मेसिन १ थान र विभिन्न चिनि उत्पादन कम्पनिको नाम उल्लेखित खाली बोरा २ सय थान बरामद गरिएको बाराका प्रहरी उपरिक्षक विकासराज खनालले बताउनुभयो ।

उनीहरुले बाराको श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रा.लि.बाट चिनी खरिद गरी गोदाममा भन्डारण गरी सो चिनीको सट्टा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको चिनीलाई प्याकिङ्ग गरी बजारमा विक्री वितरण गर्दै आएको अनुसन्धानको क्रममा खुलेको बाराका प्रहरी उपरिक्षक खनालले बताउनुभयो ।

बरामद गरिएको चिनी सहित दुबैजनालाई राजश्व छलि गरेको आरोपमा आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको बाराका प्रहरी नायब उपरिक्षक एवम प्रवक्ता रंजितसिंह राठौरले जानकारी दिनुभयो ।

यो घटनाले राजस्व छलि भित्र्याईएको भारतीय चिनीलाई नेपाली बोरामा प्याकिङ्ग गरि विक्री वितरण गर्ने गरेको अवैध धन्दाको पोल खुलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button