तपाईँ सुन्दै हुनुहुन्छः

कृषिमा युवाको चासो, हाईटेक टनेलभित्र काक्रोसँगै मौरी पालन

 स्याङ्जा – प्रत्येक दिन हजारौँ युवाहरु बिदेशका लागि मेनपावर धाईरहेका बेला यहाँका एक युवा भने कृषि व्यवसायबाटै सन्तुष्ट छन् ।

गल्याङ नगरपालिका ८ करादीका गणेशपसाद अधिकारी दश वर्ष अघिदेखि कृषिमै हुनुहुन्छ । जय मौरीका उपनामलेसमेत परिचित अधिकारीले दश वर्षअघि कृषि क्रान्ती गर्ने जोसकासाथ तरकारी खेती शुरु गर्नुभयो । तत्कालिन समयमा गोलभेडा र बन्दागोपीबाट शुरु गर्नुभएको अधिकारीको व्यवसाय त्यति फलदायी रहेन् । उत्पादन राम्रै भएपनि उचित मुल्य नपाउँदा अधिकारीले सोचेजस्तो आम्दानी भने लिन सक्नुभएन् ।

अधिकारी भन्नुहुन्छ् –‘बन्दा दुई रुपैयाँ र गोलभेडा १२ रुपैयाँ प्रतिकेजीमा बिक्री गरें ।’ त्यसपछि उहां कृषि पेशाबाट नहुने निश्कर्षसहित किराना पसल सञ्चालन गर्न थाल्नुभयोे ।

किरानातर्फ लाग्नुभएका अधिकारीको मन फेरी कृषिमै जाग्यो । त्यसपछि उहांले मौरीबाट आम्दानी गर्ने सोचका आधुनिक मौरी राख्न थाल्नुभयोे । यसबाट राम्रो आम्दानी भएपछि उहाँलाई थप हौसला जाग्यो । सँगसँगै उहांले इच्छालक्ष्मी अर्गानिक मोडल फर्म दर्ता गरी मौरीपालनसँगै जोडेर अन्य खेती गर्न थाल्नुभयो । ६ लाखको मोडेल फर्मका लागि प्रदेश सरकारबाट १ लाख ९४ हजार रुपैँया अनुदानसमेत प्राप्त गरी अधिकारीले हाईटेक प्रविधिको टनेल निर्माण गर्नुभएको छ ।

हाईटेक प्रविधिबाट खेती गर्न अधिकारीको पहिलो अनुभव भएपनि सफलता भने प्राप्त गर्नुभएको छ । हिमाली जातका काक्रोका बेर्ना लगाउनुभएको अधिकारीको टनेलमा अहिले काक्रो लटरम्मै फलेका छन् । १० मिटर लम्बाई र पाँच मिटर चौडाई मात्रै रहेको टनेलमा यसपटक मात्रै एक सय ५० किलो काक्रो बिक्री भइसक्यो ।

काक्रोको झालको प्रत्येक आँख्लोबाट फुल फुल्ने र फल लाग्ने गरेको देखेपछि अधिकारी दङ्ग हुनुहुन्छ । यसै सिजनमा यही टनेलबाट थप तीन सय ५० किलो काक्रो उत्पादन गरी पाँच सय किलो काक्रो बेच्ने उहांको लक्ष्य छ । बजारको कुनै समस्या नभएको अधिकारीको टनेलबाटै प्रतिकिलो ८० रुपैयाँका दरले काक्रो बिक्री भईरहेको छ ।

“पहिला जस्तो अहिले कहाँ छ र काम गर्छु भन्नेका लागि सरकारले सहयोग गरेको छ । बजाकिीरणका लागिसमेत स्थानीय सरकार छन् । सबै स्थानमा सडक सञ्जाल जोडिएको छ ।”

अधिकारीले उत्पादन गरिरहेको काक्रोको सबैभन्दा सकारात्मक पक्ष भनेको विषादीरहित हो । थोरै ठाउँमा पनि झण्डै चार ट्याक्टर गाइवस्तुको मल राखेर उत्पादन गरिएको काक्रोमा अहिलेसम्म कुनै पनि विषादीको प्रयोग गरिएको छैन । ‘कुनै रोग देखिएको छैन’ अधिकारीले भन्नुभयोे । गज्जबको पक्ष के भने टनेलभित्रै राखिएको मौरीको घारले काक्रोको फुलमा परागसेचन गर्छन र उत्पादन बढ्छ । अधिकारीले भन्नुभयोे –‘काक्रोको मात्रै हो र ? मौरीको पनि बच्चा उत्पादनमा यसले सहयोग पुग्ने रहेछ ।’

अहिले ७५ दिनमा उत्पादन भएपछि एक वर्षमा चार सिजन उत्पादन गर्न सकिने अधिकारीको बिश्वास छ । सबै खर्च कटाएर एक सिजनमा एउटा टनेलबाट एक लाख रुपैयाँ बचत गर्न सकिने उहांको भनाई छ । प्रदेशबाट युवा उद्दमिको प्रमाणपत्र पाएका अधिकारीको टनेलमा ओटा मौरीका घारसमेत छन् ।

त्यसबाट उत्पादित मह मात्रै होइन, मौरी सहित घारसमेत अधिकारीले बिक्री गर्दै आउनुभएको छ् । कृषिमा बिस्तारका लागि उहांले घरेलु तथा साना उद्योग विकास समितिबाट दुई प्रतिशत व्याजमा तीन लाख रुपैयाँ ऋण समेत लिनुभएको छ । उहाँको व्यवसायमा अहिले २० लाख जति लगानी भएको अधिकारीले सुनाउनुभयो । उहांले भन्नुभयो –‘उत्पादन राम्रो छ, म सन्तुष्ट छु ।’ व्यवसायिक ढंगले एकै प्रकृतिका काम गरेमा सफल हुन सकिने अधिकारीको अनुभव छ । दश वर्ष अगाडिको गोलभेडा र बन्दगोपीलाई स्मरण गर्दै अधिकारी भन्नुहुन्छ, “पहिला जस्तो अहिले कहाँ छ र काम गर्छु भन्नेका लागि सरकारले सहयोग गरेको छ । बजाकिीरणका लागिसमेत स्थानीय सरकार छन् । सबै स्थानमा सडक सञ्जाल जोडिएको छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button