प्रेमले राजनीति गरेको ‘छ माया छपक्कै’
एउटा गाँउको सत्य घट्नामा आधारीत कहाँनी, पानी र राजनीतिको कहाँनी, दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छ माया छपक्कै’ ।
राजनीति के को लागि गर्ने ? पार्टीको लागि की जनताको समस्या समाधानको लागि । नेता कसलाई भनिन्छ ? पार्टीले तोकेको व्यक्ति की जनताको समस्या समाधानको लागि सक्रिय, जनताले चुनेको व्यक्ति । माया, प्रेम र भावनासंग राजनीतिको सरोकार हुन्छ की हुदैन ? के माया, प्रेम र भावनाले राजनीति अगाडि बढ्न सक्छ ? या यसले राजनीतिक दुर्घटना पो निम्ताउछ की । अनि राजनीतिमा चाहि माया, प्रेम, भावना, परिवारको सरोकार रहदैन ? खाली पार्टी र माथिल्ला नेताहरुको आदेश निर्देशमामात्र राजनीति अगाडि बढ्न सक्छ ? शुक्रवारबाट देशभर प्रर्दशनमा आएको दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छ माया छपक्क’ चलचित्रले यस्तै पेचिला सवालहरुको सहज र सरल जवाफ दिएको छ ।
पानीले काकाकुल बनेको एउटा गाँउ, राजनीतिले जकडिएको एउटा गाँउ, कञ्चनपुर जिल्लाको खडेरी गाँउ । त्यहि गाँउको सानो तर जटिल समस्याको सेरोफेरोमा अगाडि बढेको छ ‘छ माया छपक्कै’ । खडेरी गाँउको पानीको समस्यालाई केहि काल्पनिक कथा वस्तुको आधारमा प्रस्तुत गरिएको चलचित्र छ माया छपक्कैको सन्देश, परिवेश र पीडाहरु आम नेपालीले भोगीरहेको सत्यनै हुन् । कञ्चनपुरको खडेरी गाँउमा मात्र हैन नेपालको धेरै गाँउहरुमा पानीको त्यस्तै समस्या छन् । विश्वले प्रविधिमा नयाँ नयाँ फड्को मारेको भएपनि नेपालका धेरै गाँउहरुमा अहिले पनि एक गाग्री पानीको लागि महिलाहरुले सखारै एक डेढ घण्टाको पैदल दुरी पार गर्नु पर्ने अवस्था ज्युका त्यु छन् ।
हो यहि पानी र राजनीतिले अगाडि बढाएको छ चलचित्र ‘छ माया छपक्कै’लाई । क्रान्तिकारी बाबुको छोरा हुन् दीपकराज गिरी (वीपी) । उनले सानो उमेरमा न पढ्न पाए, न आफ्नो अन्य मनोकाक्षानै पुरा गर्न सके । ४२ बर्षको उमेरसम्म अविवाहीत रहेका दीपकराजले बाबुको पदचाप पछ्याउदै पार्टीको लागि आफ्नो यौवनावस्था विताए । तर उपलब्धि ! न पानीको अभावमा काकाकुल बनेको गाँउलाई राहत दिन सके, न घर, परिवार र आफ्नो यौवनलाईनै सन्तुष्ट गर्न सके ।
क्रान्तिको जोसीलो राप र पानीले काकाकुल बनेको गाँउको अपुरो सपनको जुहारी बीचमै दीपकराजको जीवनमा केकी अधिकारी (जल) ले प्रवेश गर्छिन् । ‘छ माया छपक्कै’मा केकी अधिकारी, दीपकराज गिरीको लागि जीवनको नयाँ अध्याय बनेकी छन् । जसले जीवनको महत्व, यौवनको आवश्यकता र समस्याको समाधान पहिल्याउन सघाएकी छन् । गाँउमा देखिएको पानीको समस्या समाधानको लागि एउटा नयाँ सूत्र सहित दीपकराजको सारथी बनेर खडा भएकी छन् । आफ्नो बाबु र दाजुसंग बिद्रो गरेकी छन् र बाबु र दाजुलाई लामो समय देखिको राजनीतिक लडाईलाई विश्राम गराउन कुटनीतिक चाल चलेकी छन् ।
समाजको लागि राजनीतिमात्र पुर्ण हैन । राजनीतिलेमात्र न समाज चल्न सक्छ, न परिवारनै । राजनीतिमा परिवारको आवश्यकता, समाजको आवश्यकता र आफ्नै आवश्यकता पुरा गर्नको लागि पनि माया, प्रेम, अध्यन र सहयोगीको आवश्यकता पर्छ भन्ने सन्देश प्रवाह गर्न खोजेको छ चलचित्र ‘छ माया छपक्कै’ले । पार्टी र सिद्धान्तको लागि जनता हैन, जनताको लागि पार्टी र सिद्धान्त भन्ने मूल सन्देश बोकेको छ माया छपक्कैले समाजको आवश्यकता र जनताको चाहना विपरीत लाग्दा राजनीति सफल नहुने निष्कर्ष सुनाएको छ ।
माओवादी क्रान्तिलाई ब्यङ्गे गरिएको ‘छ माया छपक्कै’ले १० बर्षे जनयुद्धको उपलब्धि के हो ? भन्ने पेचिलो प्रश्न तेर्साएको छ । युद्ध पछिको परिर्वतनमा पनि कर्मचारी तन्त्र हावि हुदा एउटा सानो गाँउमा समेत पानीको समस्या समाधान गर्न सकिदैन भने १७ हजार जनताको सहादता के को लागि ? भन्ने अप्रत्यक्ष सवाल ‘छ माया छपक्कै’मा लुकेको छ । अनि पार्टी परिर्वतनलेमात्र पनि समस्या समाधान गर्न सकिदैन, छिमेकमा आपसि भाइचारा र सद्भाव रहन सक्यो भनेमात्र पार्टी, राजनीति र समाज अगाडि बढ्न सक्छ भन्ने सन्देश छ चलचित्र ‘छ माया छपक्कै’मा । हो यहि सन्देशको लागि चलचित्रमा केकी अधिकारीको प्रवेश भएको छ जलको भूमिकामा । पात्र, परिवेश र पस्थिति अनुसारको भूमिकामा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगायतको अभिनय उत्कृष्ठ छ ।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको संयुक्त ब्यानरमा निर्माण भएको ‘छ माया छपक्कै’को लेखन र निर्देशनमा दिपक लामा जमेका छन् भने दीपकराज गिरीको पटकथा पनि दमदार नै लाग्छ । तर फिल्ममा एउटा योद्धा (दीपकराज गिरी) लाई जसरी सैद्धान्तिक रुपमा स्खलित बनाईएको छ त्यो चाहि १० बर्षिय जनयुद्ध प्रतिको अन्याय हो की भन्ने लाग्छ । विवाह, समाज र सृष्टिको आवश्यकता हो त्यसमा दुविधा रहन सक्दैन तर एउटा गाँउको पानीको समस्या समाधान गर्ने उपाए सैद्धान्तिक स्खलनमात्र हो त ? के अरु कुनै तरीका थिएन पानीको समस्या समाधान गर्ने ? क्रान्तिकारी योद्धाहरुले यो फिल्म हेर्नु भयो भने पक्कै यस्तै सवाल गर्नु हुने छ ।
जे होस राजनीतिमा सुधार औलाएको यो फिल्मले समाजको आवश्यकतालाई सिरोधार गर्दै राजनीतिक क्रान्ति गर्नु पर्ने र परिर्वतन बोतलकोमात्र हैन रक्सीकै हुनुपर्ने सन्देश दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्