तपाईँ सुन्दै हुनुहुन्छः

समावेशी समाज निर्माणले राष्ट्रिय एकतामा जोड दिन्छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी समाज निर्माणले राष्ट्रिय एकतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभएको ।

सञ्चार मन्त्रालयमा आज गोरखापत्र संस्थानले सुरु गरेको वाम्बुले भाषाको उद्घाटन गर्दै मन्त्री गुरुङले समावेशी राजनीतिमा मात्रै नभई समाजका हरेक क्षेत्रमा समेत अभ्यासमा ल्याउनु पर्ने बताउनुभयो । 

मुलुकको संविधानले इन्द्रेणी रङ्गिन समाजलाई प्रतिनिधित्व गराउने उद्देश्यले समावेशी अवधारणा ल्याएको र यसैको गरिमा बढाउन राज्यमा सङ्घीयता शासन प्रणाली अपनाउनु परेको मन्त्री गुरुङले जोड दिनुभयो । “यो मुलुक सबैको हो, समावेशीले हरेक समुदायमा अपनत्व महशुस गराउँछ”, उहाँले भन्नुभयो,“राष्ट्रिय एकताका लागि पनि समावेशी जरुरी छ ।”

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुबेदीले गोरखापत्रमा सबैको अपनत्व महशुस गराउन अहिले सम्म ४५ वटा भाषाका सामाग्री प्रकाशन हुँदै आएको बताउनुभयो । 

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रमा भाषा सङ्ख्या थप हुँदै गएपनि गुणस्तरीय बनाउन मन्त्रालयले आर्थिक सहयोग बढाउन आवश्यक रहेको जानकारी गराउनुभयो । गोरखापत्रमा २०६४ सालदेखि नयाँ नेपाल शीर्षकमा बहुभाषिक प्रकाशनको सुरुवात भएको हो ।

वाम्बुले भाषा समाजका अध्यक्ष गर्जुधन राईले भाषाको संरक्षण गर्न सके समुदायको पहिचान जोगाउन सकिने हुँदा लोपोन्मुख वाम्बुले भाषा बचाउन समाज निरन्तर लागेको जानकारी दिनुभयो । 

राष्ट्रगानका रचेता व्याकुल माइलाले पछिल्लो समय राज्यले विभिन्न भाषा भाषीलाई आत्मसाथ गर्दै राष्ट्रियकरण गर्नमा चासो दिन थालेकोमा खुसि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button