दृष्टिविहिनलाई सहयोग जुटाउन संगीत जात्रा
काभ्रेपालाञ्चोक – अरु बेला सुनसानजस्तै देखिने काभ्रे सदरमुकाम धुलिखेलमा शनिवार भने बेग्लै चहलपहल देखियो । संगीतकर्ममा लागेका दृष्टिविहीनहरुलाई सहयोग जुटाउन आयोजित म्युजिकल जात्रामा झुम्न टाढा टाढाबाट समेत मानिहरु धुलिखेल आइपुगेका थिए ।
सानैदेखि गीत गुनगुनाउने काभ्रे पाँचखालका दृष्टिविहिन युवा प्रवेग तामाङले शनिवार भने सयौं दर्शकसामू खडा भएर सांगीतिक प्रस्तुति दिने मौका पाए ।
प्रवेगजस्तै पाँचखालका सरोज विके र सल्यानका शिवराज विकेले पनि मञ्चमा उक्लेर गीत गाउन थालेपछि दर्शकदीर्घा सांगीतिक माहौलमा नझुमी रहन सकेन ।
संगीतप्रति अभिरुचि राख्ने यिनै दृष्टिविहिनलाई सहयोग जुटाउन धुलिखेलका फुटबलर युवाको सक्रियतामा खुलेको रमाइलो छत्रछायामुनि क्लवले यो जात्रा आयोजना गरेको हो ।
म्युजिकल जात्रामा जर्मनीस्थित नर्थ व्याण्डका साथै काठमाडौं र धुलिखेलका व्याण्डहरुले पनि प्रस्तुति दिएका थिए ।
जात्रामा सहभागीहरुबाट संकलन भएको रकमबाट यी दृष्टिविहिन युवालाई संगीतमा थप पारङ्गत बनाउने योजना रहेको आयोजकले बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्