ऊर्जा क्षेत्रमा थप सहयोग गर्न जाइकालाई आग्रह
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा थप लगानीका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई आग्रह गर्नुभएको छ ।
जाइकाको दक्षिण एसियाका लागि महानिर्देशक हारा सोहेइले आज उहाँसँग गर्नुभएको भेटमा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा जाइकाले पुर्याउँदै आएको सहयोगको सह्राना गर्दै थप लगानीका लागि आग्रह गर्नुभएको हो ।
मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि जापानका निजीक्षेत्रलाई अभिप्ररित गर्न समेत जाइकाका प्रतिनिधिमण्डसँग आग्रह गर्नुभयो ।
भेटवार्तामा जाइकाले कास्की लगायतका क्षेत्रमा प्रसारण तथा वितरण प्रणालीको सुधारका लागि समेत काम गर्न लागेको सन्दर्भमा त्यसलाई अगाडि बढाउन अनुरोध गरिएको थियो ।
नेपालको ऊर्जाको क्षेत्रीय व्यापारमा भइरहेको प्रगति तथा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा भइरहेको प्रगतिका बारेमा समेत उहाँहरुबीच छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव सागर गौतमले जानकारी दिनुभयो ।
जाइकाको लगानी रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणको चरणमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्