लोकसेवा विज्ञापनः पक्ष विपक्षमा बहस
काठमाण्डौ । विभिन्न स्थानीय तहहरुमा रिक्त रहेका ९ हजार भन्दा बढी कर्मचारीको पदपूर्तिका लागि लोकसेवा आयोगले जेठ १५ गते खुला गरेको विज्ञापनलाई लिएर यतिबेला त्यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ । त्यसमाथि राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले संबैधानिक निकाय आयोगले खुला गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएपछि संसदीय समितिले संबैधानिक निकायलाई त्यसरी निर्देशन दिनु शक्ति पृथकीकरण अनुसार उचित हुने वा नहुने बहस पनि सँगसँगै सुरु भएको छ ।
लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदको राज्य व्यबस्था समितिले दिएको निर्देशनको परीक्षाका लागि दरखास्त बुझाइसकेका परीक्षार्थीहरुले विरोध गरेका छन् भने समावेशी समूहले सो विज्ञापन परिमार्जन गर्नुपर्ने माग राखेका छन् ।
विज्ञापन रद्द गर्न नहुने भन्दै परीक्षार्थीहरुले आज माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म ¥याली निकालेका थिए । उनीहरुले विज्ञापन रद्द भएमा हजारौं विद्यार्थीको भविष्य संकटमा पर्ने भन्दै विज्ञापन नरोक्न सरकारसँग माग गरेका थिए ।
समावेशी समुहको नेतृत्व गर्ने विभिन्न संघ संगठनहरुले भने आयोगको सोे विज्ञापन परिमार्जन गरी आरक्षणको व्यबस्था गर्न माग गरेका छन् ।
आयोगको केन्द्रिय परिसर काठमाडौंमा उनीहरुले एक घण्टे धर्ना कार्यक्रमको आयोजना गरेका थिए । नेपाल दलित संघ, अपाङ्ग महासंघ लगायतका समावेशी वर्गको नेतृत्व गर्ने संघ संगठननहरुले समावेशीताको मर्मविपरित खुलेको विज्ञापन स्विकार्य नहुने जिकिर गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्