तपाईँ सुन्दै हुनुहुन्छः

युवा सम्मेलनको घोषणापत्रका सुझाव कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले राष्ट्रिय युवा सम्मेलन २०२६ बाट तयार हुने ‘काठमाडौँ घोषणापत्र’का सुझावहरू कार्यान्वयनमा लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा सम्मेलन २०२६ लाई आज सम्बोधन गर्दै मन्त्री यादवले सम्मेलनपछि तयार हुने घोषणापत्रका सुझावमाथि मन्त्रालयमा छलफल गरी कार्यान्वयनको प्रक्रिया अघि बढाइने बताउनुभयो । 

उहाँले वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप र अनुभवलाई स्वदेशमै अवसरसँग जोड्न ‘रिटर्नी कनेक्ट’ तथा देशभित्रै प्लेटफर्म इकोनोमी विस्तार गर्न ‘श्रम सेवा’ नामका दुई डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो । 

त्यस्तै, युवा स्वरोजगार कोषमार्फत विना धितो कर्जा उपलब्ध गराउने, उद्यमशीलता प्रवर्द्धन गर्ने तथा ‘युवा उद्यम सारथी’, ‘कर्मयोगी श्रम सम्मान योजना’ र ‘उद्यम बनाऊ, उद्यम बढाऊ’ लगायतका कार्यक्रम आगामी महिनादेखि ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

मन्त्री यादवले नेपालको इतिहासमै पहिलो पटक निर्माण भइरहेको ‘केयर इकोनोमी पोलिसी’मार्फत आगामी पाँच वर्षभित्र एक लाख युवालाई स्वदेशमै रोजगारी दिने लक्ष्य राखिएको जानकारी पनि दिनुभयो । 

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु परिवर्तन, डिजिटल गभर्नेन्स, उद्यमशीलता, मानसिक स्वास्थ्य, खेलकुद, सामाजिक समानता र नागरिक सहभागितालगायतका विषयमा छलफल हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button