तपाईँ सुन्दै हुनुहुन्छः

निसेलढोरमा यसै वर्ष विद्युत् विस्तार गरिने, गण्डकीमा शतप्रतिशत विद्युतीकरणको लक्ष्य

बागलुङ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गरिने बताउनुभएको छ।

बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ पहिरोको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले प्रसिद्ध पर्यटकीयस्थल ढोरपाटनमा बिहीबार केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगिसकेको उल्लेख गर्नुभयो । ढोरपाटनबाट करिब ११ किलोमिटर टाढा रहेको निसेलढोरमा पनि यसै वर्ष विद्युत् पुर्‍याउने लक्ष्य राखिएको जानकारी दिँदै उहाँले त्यससँगै गण्डकी प्रदेशमा शतप्रतिशत विद्युतीकरण पूरा हुने बताउनुभयो ।

“चुनौतीका बीच ढोरपाटनमा केन्द्रीय विद्युत् पुगेको छ,” मन्त्री श्रेष्ठले भन्नुभयो, “त्यहाँबाट ११ किलोमिटर टाढा रहेको निसेलढोरमा सम्भवतः यसै वर्ष विद्युत् पुर्‍याउँछौँ । त्यसपछि गण्डकी प्रदेश शतप्रतिशत विद्युतीकरण हुनेछ ।”

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले दब्ल्याङ पहिरोको दिगो समाधानका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । पहिरो नियन्त्रणका लागि परम्परागत संरचनासँगै ‘बायोइन्जिनियरिङ’ विधि अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button