भेरी अस्पताललाई १४ लाख रुपैयाँ मूल्यको डायलाइसिस मेसिन सहयोग
बाँके।नेपालगन्जस्थित भेरी अस्पतालमा डायलाइसिस सेवा विस्तारका लागि एक थान नयाँ मेसिन थपिएको छ।
नेपालगन्जका समाजसेवी निशात अफजल इराकीले मिर्गौलाका बिरामीको उपचारमा सहजता ल्याउने उद्देश्यले करिब १४ लाख रुपैयाँ मूल्यको डायलाइसिस मेसिन अस्पताललाई सहयोग गर्नुभएको हो।
पछिल्लो समय मिर्गौलासम्बन्धी समस्या भएका बिरामीको संख्या बढ्दै जाँदा डायलाइसिस सेवामा समेत चाप बढिरहेको छ। नयाँ मेसिन थपिएपछि बिरामीलाई उपचार सेवा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।
अस्पतालका चिकित्सक डा. पारस श्रेष्ठले डायलाइसिस सेवा मिर्गौलाका बिरामीका लागि अत्यावश्यक रहेको उल्लेख गर्दै नयाँ मेसिन थपिएपछि सेवा सञ्चालन र उपचार व्यवस्थापनमा सहजता आउने बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पताललाई सहयोग गरेकोमा सहयोगदाताप्रति आभार व्यक्त गर्नुभयो।
केही दिनअघि अस्पतालमा ल्याइएको उक्त मेसिन सहयोगदाता इराकीले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालको उपस्थितिमा डायलाइसिस युनिटलाई हस्तान्तरण गर्नुभएको हो।
डा. पारस श्रेष्ठको समन्वयमा आयोजित हस्तान्तरण कार्यक्रममा अस्पतालका मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डे, डा. संकेत रिसाल, डा. सौरभसिंह हमाललगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति थियो।
सामाजिक क्षेत्रबाट प्राप्त सहयोगले सार्वजनिक स्वास्थ्य संस्थाको सेवा विस्तार र सुदृढीकरणमा योगदान पुग्ने विश्वास गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्