तपाईँ सुन्दै हुनुहुन्छः

पुराना मेसिन स्तरोन्नति गरेर हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सम्भावना खोजिँदै

हेटौँडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पुराना मेसिनको स्तरोन्नति, मर्मत र स्वचालनमार्फत बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन अघि बढाउने बताउनुभएकाे छ।

शुक्रबार उद्योगको अवलोकन गर्नुहुँदै मन्त्री पुनले त्यहाँ रहेका पुराना मेसिन तथा उपकरणको प्राविधिक अवस्था अध्ययन गरी आवश्यक सुधार गर्न सकिने बताउनुभयाे।

उहाँका अनुसार पुराना मेसिनलाई अनुसन्धान र नवप्रवर्तनमार्फत आधुनिक प्रविधिमा रूपान्तरण गरी पुनः प्रयोग गर्न सकिन्छ।

उद्योग सञ्चालनका लागि आवश्यक साना पार्टपुर्जा तथा उपकरणसमेत स्वदेशमै उत्पादन गर्न सकिने सम्भावना खोज्नुपर्ने उहाँको भनाइ छ।

त्यसका लागि प्राविधिक टोली गठन गरी मेसिन तथा उपकरणको विस्तृत अध्ययन गरिने मन्त्री पुनले बताउनुभयाे।

उहाँले पुराना मेसिनलाई स्वचालित प्रणालीमा रूपान्तरण गर्न अनुसन्धान र नवप्रवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयाे।

‘मेसिन पुराना भए पनि फलामका भएकाले अझै काम गर्न सक्छन्। अनुसन्धान र नवप्रवर्तनमार्फत तिनलाई स्वचालित बनाउन तथा आवश्यक साना पार्टपुर्जा आफैँ उत्पादन गर्न सकिने सम्भावनाबारे छलफल गर्न आएको हुँ,’ उहाँले भन्नुभयाे।

प्रतिक्रिया राख्नुहोस्

Back to top button