खेल क्षेत्रको विकासमा योजनाबद्ध तरिकाले सरकार जुटेको छ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार योजनबद्ध तरिकाले अघि बढेको बताउनुभएको छ ।
आज कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको मिनी कभर्ड हलमा हिजोदेखि शुरु भएको दशौं राष्ट्रिय खेलकुद अन्तर्गत जिम्न्यास्टिक प्रतियोगिताको आज विधिवत् उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहीले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार योजनाबद्ध तरिकाले अघि बढी सकेको बताउनुभयो ।

उहाँले खेल क्षेत्रको समग्र विकास नगरी अन्य क्षेत्रको विकास अधुरो हुने बताउनुभयो । “खेल पूर्वाधार निर्माण, नियमित प्रतियोगिता र व्यावसायिक खेलको विस्तारमार्फत खेल क्षेत्रको विकासका लागि योजनाबद्ध कदमहरू अघि बढाइनेछ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमहरूमार्फत खेल क्षेत्रको प्रवद्र्धनलाई प्राथमिकतामा राखी सकेको छ ।”
उहाँले दशौं राष्ट्रिय खेलकुदले नयाँ प्रतिभा पहिचान गर्न र प्रदेश स्तरमा खेल पूर्वाधार विकास गर्न मद्दत समेत पुगेको जनाउनुभयो । “असफलता नै सफलताको जननी हो । दशौं राष्ट्रिय प्रतियोगितामा मात्र सीमित नभई निरन्तर अभ्यासमार्फत आफ्नो प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन खेलाडी साथीहरू अनुरोध गर्दछु ।”, उहाँले भन्नुभयो ।

उहाँले प्रतियोगिता अवधिभर देशभरबाट आउनुहुने पाहुनहरुको कर्णाली बसाई सुखद र उपलब्धिमूलक हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रम नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले कर्णालीमा जिम्न्यास्टिक खेलको पर्याप्त सम्भावना रहेको प्रदेश सरकारलाई लगानी बढाउनु सुझाव दिनुभयो ।
नेपाल जिम्न्यास्टिक संघका उपाध्यक्ष तथा प्रतियोगिताका केन्द्रीय प्रतिनिधि राजकुमार कार्कीले कर्णाली प्रदेश सरकारको आथित्यतता अत्यन्तै हार्दिकता रहेजस्तै जिम्न्यास्टिक खेलको विकासमा समेत हार्दिक देखाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य पवन शाहीको समेत उपस्थिति रहेको थियो ।









प्रतिक्रिया राख्नुहोस्