विराटनगरका एक लाख नागरिकलाई स्वच्छ एवं गुणस्तर पानी उपलब्ध हुने

विराटनगर । जापान सरकार जाइकाको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ ।
करिब २ अर्ब २९ करोड जापानी येनको लागतमा निर्माण सम्पन्न भएको आयोजनाले विराटनगरका करिब एक लाख नगरवासीलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ ।
विराटनगरमा आज आयोजित कार्यक्रममा आयोजनाको उद्घाटन एवं हस्तान्तरण गरिएको हो । सन् २०२४ जुन २५ मा निर्माण सुरु भएको आयोजना सन् २०२६ अक्टोबर १४ मा सम्पन्न भएको हो ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा जापानको एम÷एस शिमिजु कर्पोरेसनले नेपाल खानेपानी संस्थानअन्तर्गत आयोजना निर्माण गरेको हो ।
आयोजना अन्तर्गत विराटनगरमा ५६ दशमलव २६ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । र्यापिड स्यान्ड फिल्टर प्रविधिमा आधारित चारवटा खानेपानी प्रशोधन केन्द्र निर्माण गरिएको छ । चारवटा पानी भण्डारण ट्याङ्की र तिनसँग सम्बन्धित पम्प भवन, एउटा ओभरहेड पानी ट्याङ्की तथा एउटा प्रशासनिक भवन निर्माण गरिएको छ ।
परियोजना अन्तर्गत एक हजार १९८ घरधुरीमा खानेपानीका धारा जडानसमेत गरिएको छ । आयोजनाको सञ्चालन तथा व्यवस्थापन नेपाल खानेपानी संस्थानले गर्नेछ । यस आयोजनाले विराटनगरको खानेपानी आपूर्ति प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउनुका साथै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बोल्नुहुँदै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर खानेपानी सुधार आयोजना दीर्घकालीन महत्वको परियोजना भएको बताउनुभयो। उहाँले आयोजनाबाट विराटनगरका करिब एक लाख नागरिक लाभान्वित हुने र महानगरका १५ वटा वडाका बासिन्दाले स्वच्छ खानेपानीको सुविधा पाउने बताउनुभयो ।

उहाँले खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न बाँकी वडालाई समेत समेट्ने गरी दोस्रो चरणको आयोजना सञ्चालन गर्न जापान सरकारसँग आग्रह गर्नुभयो ।
नेपालका लागि जापानी राजदूत तोरु माइदाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव मनाइरहेको वर्षमा आयोजना सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
जापान लामो समयदेखि नेपालको विकास साझेदार रहँदै आएको उल्लेख गर्दै उहाँले मेलम्ची खानेपानी आयोजना र पोखरा खानेपानी सुधार आयोजनामा पनि जापानले सहयोग गरेको स्मरण गर्नुभयो ।
विराटनगरमा अर्को महत्वपूर्ण खानेपानी आयोजना सम्पन्न गर्न पाउँदा जापान सरकार गौरवान्वित भएको उहाँको भनाइ थियो । नेपाल खानेपानी संस्थानले पाइप जडानको काम पूरा गरेपछि प्रणाली औपचारिक रूपमा सञ्चालनमा आउने र विराटनगरको कुल जनसङ्ख्याको करिब ४० प्रतिशत नागरिकले स्वच्छ तथा सुरक्षित खानेपानी पाउने उहाँले बताउनुभयो ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रतिनिधि इन्डो केइले पानी मानव जीवन र समाजका लागि अपरिहार्य रहेको बताउनुभयो । सुरक्षित र भरपर्दो खानेपानी आपूर्ति जनस्वास्थ्य सुधारका लागि मात्र नभई नागरिकको जीवनस्तर उकास्न, आर्थिक गतिविधि बढाउन र दिगो सहरी विकासका लागि समेत महत्वपूर्ण रहेको उहाँको भनाई थियो ।
नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले आयोजनाबाट विराटनगरको खानेपानी आपूर्तिमा सुधार आउने विश्वास व्यक्त गर्दै बाँकी वडालाई समेटेर दोस्रो चरणको परियोजना सञ्चालन गर्न आग्रह गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्