तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह

जनकपुरधाम । त्रेतायुगीन रामायणकालीन सभ्यतासँग जोडिएका दुई ऐतिहासिक धार्मिक नगरी जनकपुरधाम र अयोध्याबीच अब रेलमार्गबाट प्रत्यक्ष सम्पर्क स्थापित भएको छ । माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई जोड्ने रेल सेवाले नेपाल–भारतबीच सदियौँदेखि कायम धार्मिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने जनकपुरधामवासीको अपेक्षा छ ।

रामायणमा वर्णित राम–सीताको प्रेम, आदर्श, त्याग र समर्पणसँग जोडिएका यी दुई ऐतिहासिक सहरबीच रेल सेवा सञ्चालन हुनुलाई सामान्य यातायात सुविधाका रूपमा मात्र हेरिएको छैन । यसलाई दुई देशको साझा धार्मिक सभ्यता, सांस्कृतिक विरासत र जनस्तरको आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने महत्वपूर्ण माध्यमका रूपमा लिन सकिन्छ । रेल सेवाले दुवै देशका श्रद्धालु तथा पर्यटकलाई सहज आवागमनको अवसर प्रदान गर्नुका साथै धार्मिक पर्यटन, स्थानीय व्यापार र आर्थिक गतिविधिमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ ।

जनकपुरधाम र अयोध्या धार्मिक आस्थाका दृष्टिले नेपाल र भारतका महत्वपूर्ण तीर्थस्थल हुन् । जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा श्रद्धापूर्वक स्मरण गरिन्छ । यी दुई सहरबीचको सम्बन्ध धार्मिक ग्रन्थ, परम्परा र सांस्कृतिक मान्यतामा मात्र सीमित छैन, दुवै देशका नागरिकको भावनासँग पनि गहिरोसँग जोडिएको छ । अब रेलमार्गबाट प्रत्यक्ष जोडिएपछि रामायणकालीन धार्मिक स्थलको दर्शन गर्न चाहने श्रद्धालुका लागि यात्रा थप सहज हुने भएको छ । 

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा गत मङ्सिर ७ गते नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा हरियो झण्डा देखाएर उक्त रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । जनकपुरधाम र अयोध्याबीच धार्मिक यात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयू–कमला एक्सप्रेस रेल सेवा यही शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने तयारीमा छ ।

उद्घाटन भएको एक साताभित्रै रेलसेवा व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार अयोध्याबाट शनिबार बिहान जनकपुरधाम आइपुग्ने रेलको व्यावसायिक सञ्चालनका लागि टिकट बुकिङ खुला गर्ने तयारी भइरहेको छ । टिकटको भाडादर निर्धारण गर्ने विषयमा छलफल भइरहेको र केही प्राविधिक काम बाँकी रहे पनि जनकपुरधाम रेल्वे स्टेसनबाटै टिकट खरिद गर्न सकिने व्यवस्था मिलाउन लागिएको उहाँले बताउनुभयो ।

अनलाइनबाट टिकट लिन चाहने यात्रुले भारतकै टिकट प्रणालीमार्फत टिकट बुक गर्न सक्नेछन् भने नेपालबाटै टिकट लिन चाहने यात्रुले जनकपुरधाम रेल्वे स्टेसनमा पुगेर टिकट खरिद गर्न सक्नेछन् । यस व्यवस्थाले नेपाली यात्रुलाई टिकट प्राप्त गर्न सहज हुने विश्वास गरिएको प्रबन्ध सञ्चालक पराजुलीको विश्वास छ । उहाँका अनुसार रेलमा यात्रा गर्न नेपाली नागरिकले नेपाल सरकारबाट जारी गरिएका परिचयपत्रमध्ये कुनै एक अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ । यात्रुले नेपाली नागरिकता, राहदानी वा मतदाता परिचयपत्रका आधारमा टिकट लिनसक्ने व्यवस्था गरिएको छ ।

जनकपुरधाम–अयोध्या रेलमा कुल १७ वटा डिब्बा रहनेछन् । जसमा वातानुकूलित द्वितीय श्रेणीका दुई, वातानुकूलित तृतीय श्रेणीका तीन, तृतीय इकोनोमी श्रेणीका तीन, शयनयान श्रेणीका सात र एसएलआरका दुई डिब्बा समावेश छन् । विभिन्न श्रेणीका डिब्बा समावेश गरिएकाले यात्रुले आफ्नो आवश्यकता र सुविधाअनुसार यात्रा गर्न सक्नेछन् ।

निर्धारित समयतालिकाअनुसार प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि रेल प्रस्थान गर्नेछ भने सोमबार अयोध्याबाट जनकपुरधाम फर्कनेछ । साप्ताहिक रूपमा सञ्चालन हुने यस सेवाले विशेषगरी माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्याको दर्शन गर्न चाहने दुवै देशका तीर्थयात्रीलाई सहजता प्रदान गर्ने छ ।

करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेलले भारतको बिहार तथा उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्यासँग जोड्नेछ । रेलमार्गमा जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधामलगायत स्थानमा व्यावसायिक बिसौनी रहने प्रबन्ध सञ्चालक पराजुलीले बताउनुभयो । ती स्थानबाट यात्रु चढ्न तथा ओर्लन सक्ने व्यवस्था गरिएको छ । यसले जनकपुरधाम र अयोध्यालाई मात्र नभई रेलमार्गमा पर्ने विभिन्न सहरका यात्रुलाई समेत लाभ पुर्‍याउने अपेक्षा गरिएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । उहाँका अनुसार माता सीताको जन्मभूमि र भगवान् रामको जन्मभूमिबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुनु दुवै देशका श्रद्धालुका लागि ऐतिहासिक अवसर हो । उहाँले यस सेवाले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रामायणसँग जोडिएका धार्मिक स्थलबीच सहज आवागमन हुन थालेपछि भारतका विभिन्न क्षेत्रबाट जनकपुरधाम आउने पर्यटकको सङ्ख्या बढ्नसक्ने उहाँको भनाइ छ । उहाँले रेल सेवाले धार्मिक पर्यटनसँगै नेपाल–भारतबीच जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पु¥याउने र मधेस प्रदेशको कृषि, उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

धार्मिक पर्यटकको आगमन बढेपछि स्थानीय होटल व्यवसायी, यातायात व्यवसायी, खानपान तथा हस्तकला व्यवसायमा आबद्ध समुदायले प्रत्यक्ष लाभ लिन सक्ने उहाँले उल्लेख गर्नुभयो । पर्यटकको आवागमनले स्थानीय उत्पादनको बजार विस्तार हुनुका साथै रोजगारीका नयाँ अवसरसमेत सिर्जना हुन सक्ने उहाँको विश्वास छ । जनकपुरधाम धार्मिक आस्थाको केन्द्र मात्र नभई मिथिला सभ्यता, कला, संस्कृति र परम्पराको विशिष्ट पहिचान बोकेको सहर पनि हो । यहाँको जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, धनुषाधाम, पोखरी तथा विभिन्न धार्मिक सम्पदाले जनकपुरधामको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्दै आएका छन् ।

कानुन व्यवसायी राजकुमार महासेठले जनकपुरधाम–अयोध्या रेल सेवाले दुवै देशका धार्मिक पर्यटकीय गन्तव्यमा पर्यटकको आवागमन बढाउने बताउनुभयो । उहाँका अनुसार जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम, विवाहमण्डप तथा मिथिलाको मौलिक कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न रेल सेवाले सहयोग पु¥याउनेछ । उहाँले रेल सेवाले भारतसँग नेपालको धार्मिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप उचाइ दिने विश्वास व्यक्त गर्नुभयो । जनकपुरधाममा आउने पर्यटकलाई धार्मिक स्थलको दर्शनसँगै मिथिलाको कला, संस्कृति, खानपान र परम्परागत जीवनशैलीको अनुभव गराउन सके पर्यटनको सम्भावना अझ विस्तार हुने उहाँको भनाइ छ ।

मिथिला चित्रकला, लोकगीत, लोकनृत्य, परम्परागत हस्तकला, विवाह संस्कार तथा विभिन्न सांस्कृतिक पर्व जनकपुरधामका महत्त्वपूर्ण पर्यटकीय आकर्षण हुन् । रेलमार्गबाट पर्यटकको आवागमन बढेपछि यी मौलिक सम्पदाको प्रचारप्रसार र बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको उहाँको कथन छ । धार्मिक पर्यटकको सङ्ख्या बढेसँगै जनकपुरधामको होटल तथा आवास व्यवसाय, रेस्टुरेन्ट, यातायात, हस्तकला, स्थानीय उत्पादन र पर्यटन पथप्रदर्शन क्षेत्रमा आर्थिक गतिविधि विस्तार हुने सम्भावना छ । पर्यटकको बसाइ अवधि बढाउन सकिए स्थानीय व्यवसायीले प्रत्यक्ष लाभ लिनसक्ने कानून व्यवसायी महासेठले बताउनुभयो ।

रेल सेवाबाट आउने पर्यटकलाई लक्षित गरी धार्मिक भ्रमण प्याकेज, स्थानीय सांस्कृतिक कार्यक्रम, मिथिला भोजन, हस्तकला प्रदर्शनी तथा पर्यटकीय गन्तव्यको भ्रमण व्यवस्था गर्न सकिनेछ । यसले पर्यटन व्यवसायलाई व्यवस्थित बनाउनुका साथै स्थानीय युवाका लागि रोजगारीका अवसरसमेत सिर्जना गर्न सक्ने उहाँको भनाइ छ । कानुन व्यवसायी महासेठले पर्यटकको आगमन बढेपछि स्थानीय होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटक पथप्रदर्शक तथा हस्तकला क्षेत्रमा आबद्ध समुदायले प्रत्यक्ष लाभ लिन सक्ने बताउनुभयो । त्यसका लागि पर्यटकमैत्री पूर्वाधार, सरसफाइ, आवास, सुरक्षा, सूचना तथा यातायात व्यवस्थापनमा सुधार गर्नुपर्ने उहाँको सुझाव छ ।

जनकपुरधाम र अयोध्या रामायणसँग सम्बन्धित दुई महत्वपूर्ण धार्मिक केन्द्र हुन् । यी दुई सहरबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुँदा रामायण सर्किटको अवधारणालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । जनकपुरधाममा विवाहपञ्चमी, रामनवमी, जानकी नवमी तथा अन्य धार्मिक पर्वका अवसरमा भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा श्रद्धालु आउने गरेका छन् । त्यसैगरी अयोध्यामा पनि विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिका अवसरमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन हुने गरेको छ । 

दुवै सहरबीच रेल सेवा सञ्चालन भएपछि तीर्थयात्रीले एउटै यात्रामा दुवै धार्मिक स्थलको दर्शन गर्ने अवसर पाउनेछन् । यसले धार्मिक यात्रालाई सहज बनाउनुका साथै दुवै देशका धार्मिक तथा सांस्कृतिक संस्थाबीच सहकार्य र सम्पर्क विस्तार गर्ने सम्भावना पनि बढाएको अधिकारकर्मी सिजेन्द्र सदाको भनाइ छ । रामायणसँग सम्बन्धित अन्य धार्मिक तथा ऐतिहासिक स्थललाई समेत एउटै पर्यटन मार्गमा जोड्नसके नेपाल र भारतबीच धार्मिक पर्यटनको दायरा अझ विस्तार हुन सक्ने उहाँले बताउनुभयो ।

नागरिक समाजका अगुवा रेखा झालले लामो समयदेखि पहल हुँदै आए पनि सञ्चालन हुन नसकेको रेल सेवा अहिले कार्यान्वयनको चरणमा पुग्नु सकारात्मक उपलब्धि भएको बताउनुभयो । उहाँले रेल सेवालाई नियमित र प्रभावकारी बनाउन दुवै देशका सरकारबीच आवश्यक नीतिगत निर्णय, प्रशासनिक समन्वय तथा पूर्वाधार व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार रेल सेवा सञ्चालन हुनु महत्वपूर्ण उपलब्धि भए पनि यसको दीर्घकालीन सफलता नियमित सञ्चालन, यात्रुको सुरक्षा, सहज टिकट व्यवस्था र प्रभावकारी व्यवस्थापनमा निर्भर रहनेछ । धार्मिक पर्यटनबाट स्थानीय समुदायले लाभ लिन सक्ने वातावरण बनाउन सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । यही रेल सञ्जाललाई आधार बनाएर व्यावसायिक रूपमा जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालन गर्न लागिएको हो । जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा मानिँदै आएको छ । यी दुई ऐतिहासिक सहरबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित भएपछि धार्मिक पर्यटनको नयाँ सम्भावना खुल्ने र रामायणसँग जोडिएका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीचको सम्बन्ध थप बलियो हुने अपेक्षा गरिएको छ ।

नयाँ रेल सेवाले श्रद्धा र संस्कृतिका दुई ऐतिहासिक केन्द्रबीच पर्यटकको आवागमन सहज बनाउनुका साथै स्थानीय आर्थिक गतिविधि र नेपाल–भारतको जनस्तरको सम्बन्धलाई समेत नयाँ गति दिने स्थानीय व्यवसायी अम्बुप्रसाद साहको विश्वास छ । यसले धार्मिक आस्थालाई पर्यटन, व्यापार र आर्थिक समृद्धिसँग जोड्न सकिए जनकपुरधामले अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप पहिचान स्थापित गर्ने अवसर पाउनेछ । यसका लागि रेल सेवा नियमित र भरपर्दो बनाउने, यात्रुको सहज आवागमन सुनिश्चित गर्ने, पर्यटकीय पूर्वाधार सुधार गर्ने तथा दुवै देशका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्नुपर्ने साहले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button