तपाईँ सुन्दै हुनुहुन्छः

१२ हजार वर्षअघि अन्नपूर्णबाट आएको पहिरो र गेग्रानले पोखरा उपत्यका बनेको भूगर्भीय अध्ययनको निष्कर्ष

कास्की । पोखराको वर्तमान भू–आकृति निर्माणमा अन्नपूर्ण हिमशृङ्खलाबाट आएको विशाल पहिरो र गेग्रानले महत्त्वपूर्ण भूमिका खेलेको भूगर्भीय अध्ययनले देखाएको छ।

पोखराको भूमिगत इतिहासबारे लामो समयदेखि अनुसन्धान गर्दै आएको जापानको क्योटो विश्वविद्यालयका भूगर्भशास्त्री प्राध्यापक डा. हारुताका सकाईले हजारौँ वर्षअघिको पहिरोले पोखरा उपत्यकाको स्वरूप निर्माण गरेको बताउनुभयो ।

शुक्रबार पोखरा महानगरपालिकाले आयोजना गरेको पोखराको भूगोल विषयक अनुसन्धान प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रममा उहाँले अन्नपूर्ण चौथो हिमाल क्षेत्रमा करिब १२ हजार वर्षअघि आएको विशाल बाढी र पहिरोले बगाएर ल्याएको ढुङ्गा, माटो तथा गेग्रान थुप्रिएर पोखरा उपत्यका बनेको बताउनुभयो।

अन्नपूर्ण क्षेत्रबाट बगाएर ल्याएको गेग्रानले उपत्यकाको भू–आकृति निर्माण गरेपछि सेती नदीले त्यही जमिन काट्दै गहिरो गल्छी बनाएको उहाँको भनाइ छ। पोखराको भूगर्भीय बनावटलाई अन्नपूर्ण क्षेत्रदेखि सेती नदीको गल्छीसम्म चार अलग क्षेत्रका रूपमा अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो।

पोखराको भूगर्भीय अवस्थाको विस्तृत अध्ययन गरी सुरक्षित सहरी विकासलाई अघि बढाउने महानगरको तयारी छ। जमिनको भारवहन क्षमता र भूगर्भीय जोखिमको अध्ययनपछि मात्रै कस्ता संरचना निर्माण गर्न दिने भन्ने निर्णय गरिने  प्रमुख आचार्यले बताउनुभयो।

पोखराको जमिन कमजोर भूगर्भीय बनावट, चुनढुङ्गा पग्लने प्रक्रिया र अव्यवस्थित सहरीकरणका कारण जोखिमपूर्ण बन्दै गएको छ। जमिनको भारवहन क्षमता परीक्षण नगरी अग्ला तथा गह्रौँ भवन निर्माण गर्दा जमिन भासिन सक्ने जोखिम रहेकाले भूगर्भीय अध्ययनपछि मात्रै निर्माणसम्बन्धी मापदण्ड तय गरिने महानगरको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button