तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा पहिलोपटक स्थानीय तहबाटै मालपोत र नापी सेवा सुरु

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकाले स्थानीय स्तरबाटै मालपोत तथा नापीसम्बन्धी सेवा दिन ‘भूमि प्रशासन शाखा’ स्थापना गरेको छ। यससँगै स्थानीय तहबाटै भूमिसम्बन्धी सेवा सुरु गर्ने पूर्वीचौकी डोटीको पहिलो गाउँपालिका बनेको छ।

संविधानले परिकल्पना गरेको अधिकार गाउँगाउँसम्म पुर्‍याउने उद्देश्यले शाखा स्थापना गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनुभयो । “यो व्यवस्थाले स्थानीय बासिन्दालाई मालपोत र नापीको कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्नेछ,” उहाँले भन्नुभयो ।

नेपाल सरकारको निर्णयअनुसार नागरिकको सहज पहुँच र सुविधालाई ध्यानमा राखेर सेवा विस्तार गरिएको प्रमुख प्रशासकीय अधिकृत जनकराज शर्माले जानकारी दिनुभयो । भूमि प्रशासन कार्यालय डोटीका प्रमुख कपिल भट्टले पनि जिल्लामै पहिलोपटक पूर्वीचौकीले स्थानीय तहबाटै यो सेवा सञ्चालनमा ल्याएको पुष्टि गर्नुभयो ।

यसअघि जग्गाजमिनसम्बन्धी सामान्य कामका लागि समेत सदरमुकाम सिलगढी पुग्नुपर्ने बाध्यता थियो। अब गाउँपालिकामै सेवा उपलब्ध हुने भएपछि समय र खर्च दुवैको बचत हुने भन्दै स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button