बाँझो जग्गा सदुपयोग गर्न बडीमालिकामा ‘भूमि बैंक’ स्थापना
जग्गा सूचीकृत गर्न ३५ दिने सूचना जारी
बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाले बाँझो, उपयोगविहीन तथा न्यून उपयोगमा रहेका निजी जग्गालाई कृषि उत्पादन र व्यावसायिक प्रयोजनमा लगाउने उद्देश्यले ‘भूमि बैंक’ स्थापना गरेको छ।

नगर कार्यपालिकाको कार्यालयले मंसिर १० गते सार्वजनिक सूचना जारी गर्दै भूमि बैंकमार्फत जग्गा भाडामा दिन इच्छुक जग्गाधनीलाई जग्गा सूचीकृत गर्न आह्वान गरेको हो।
उत्पादनशील क्षेत्रमा जग्गाको उपयोग बढाउने लक्ष्यसहित स्थापना गरिएको भूमि बैंकमार्फत न्यूनतम पाँच वर्षदेखि अधिकतम २० वर्षसम्मका लागि जग्गा भाडामा दिने अवधि तोकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रङ्गमल विकले जानकारी दिनुभयो। सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र इच्छुक जग्गाधनीले नगरपालिकाको भूमि शाखामा निवेदन दिनुपर्नेछ।
नगरपालिकाका अनुसार भूमि बैंकमा जग्गा सूचीकृत गर्दैमा जग्गाको स्वामित्व नगरपालिका वा अन्य कुनै पक्षमा हस्तान्तरण हुने छैन, जग्गाधनीमै पूर्ण स्वामित्व सुरक्षित रहनेछ।
बाँझो तथा प्रयोगविहीन जग्गालाई उत्पादनसँग जोड्ने, कृषि उत्पादन बढाउने र व्यावसायिक खेतीको सम्भावना विस्तार गर्ने उद्देश्यले भूमि बैंकको अवधारणा अघि सारिएको हो। यसबाट बाँझो जग्गाको सदुपयोग हुनुका साथै किसान तथा व्यवसायीलाई जग्गा भाडामा लिएर कृषि तथा व्यावसायिक गतिविधि अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्