दशौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनल प्रवेश, कर्णाली बाहिरियो
मुगु । विभागीय टोली त्रिभुवन आर्मी क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटतर्फ सहआयोजक कर्णाली प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो हारसँगै कर्णाली भने प्रतियोगिताबाट बाहिरिएको छ । कर्णाली यसअघि कोशी प्रदेशसँग पराजित भएको थियो ।

शुक्रबार वीरेन्द्रनगर रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १३८ रन बनायो । महिला राष्ट्रिय टोलीकी सदस्य समेत रहेकी आर्मीकी सम्झना खड्काले ५८ बलमा १० चौका प्रहार गर्दै सर्वाधिक ६२ रन बनाइन् ।
यस्तै यशोदा विष्टले ३३ रन बनाउँदा कविता कुँवर ६ बलमा ११ रन बनाउँदै अविजित रहिन् । आर्मीकी विन्दु रावलले सात र रुवि पोदारले पाँच रन जोडिन् भने आर्मीले २० रन अतिरिक्त पायो । बलिङतर्फ कर्णालीका गंगा खड्का, रमा बुढाथोकी, सोना चन्द र किरणकुमारी कुँवरले समान एक–एक विकेट लिए ।
१३९ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ रनमै अलआउट भयो । तल्लो क्रममा ब्याटिङ गर्न आएकी कर्णालीकी जयन्ती चन्दले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । कप्तान करुणा कुमारी कुँवर आठ रनमा आउट हुँदा शिखा दवाडीले ६ रन बनाइन् । यस्तै रेखा सोनीले पाँच, रविना बुढामगरले तीन तथा उमा चौधरी, श्रुती बुढा र अञ्जु गुरुङले एक–एक रन जोडे ।
कर्णालीलाई सस्तैमा समेट्न आर्मीकी मनिषा उपाध्यायले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी मनिषाले मात्र १० रन खर्चिइन् । यस्तै यमुना थारुले चार ओभरमा एक मेडनसहित तीन विकेट लिँदा कविता कुँवरले तीन ओभर बलिङ गर्दै दुई विकेट हात पारिन् । लक्ष्मी साउँदको नाममा एक विकेट रह्यो । आर्मीका लागि सर्वाधिक ६२ रनको योगदान दिएकी सम्झना खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।








प्रतिक्रिया राख्नुहोस्