साउदी अरबमा भएको हवाई आक्रमणमा एक नेपालीको मृत्यु, तीन घाइते
काठमाडौँ । साउदी अरबमा हालै भएका हवाई आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। परराष्ट्र मन्त्रालयले घटनाको पुष्टि गरेको हो।
मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ।
नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रालयले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै, उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।
कुनै पनि अवस्थामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुनेमा नेपालले स्पष्ट जोड दिएको छ। मन्त्रालयले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन तथा विवाद र द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न आग्रह गरेको छ।








प्रतिक्रिया राख्नुहोस्