तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा ‘अशक्तसँग प्रजिअ’ कार्यक्रम: ९१ वर्षीया वृद्धालाई घरमै नागरिकता

बैतडी। बैतडीको पाटन नगरपालिका–३ गुजरकी ९१ वर्षीया धिङडी भट्टलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको ‘अशक्तसँग प्रजिअ’ कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बिहीबार उहाँकै घरमा पुगेर नागरिकता प्रदान गर्नुभएको हो।

शारीरिक अशक्तता तथा अपाङ्गताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत बिहीबार पाटनमा चार जनालाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो।

कार्यक्रम सुरु भएयता बैतडीमा हालसम्म १५ जना अशक्त तथा अपाङ्गता भएका नागरिकले नागरिकता प्राप्त गरिसकेका छन्। अपाङ्गता भएकै कारण लामो समयसम्म नागरिकताबाट वञ्चित भट्टले घरमै नागरिकता पाएपछि खुसी व्यक्त गर्नुभएको वडा अध्यक्ष करुणाकर भट्टले बताउनुभयो।

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घर, नजिकको पायक पर्ने स्थान वा वडा कार्यालयमै पुगेर नागरिकता दिने उद्देश्यले जिल्लाका ८४ वटै वडाबाट विवरण सङ्कलन गरिएको छ। जिल्लाका सबै स्थानमा पुगेर लक्षित नागरिकलाई नागरिकता प्रदान गर्ने लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो। स्थानीय बासिन्दाले पनि यो अभियान प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button