शिक्षा समिति बैठकः चलचित्र विधेयकमाथि संशोधनकर्तासँग छलफल
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा चलचित्र विधेयक २०८१ मा संशोधनकर्ता सांसदहरुले आफ्ना संशोधन प्रस्तुत गर्नुभएको छ ।
बैठकमा सांसदहरु सुलभ खरेल, पार्वती विक, प्रकाशचन्द्र परियार, कमल सुवेदीलगायतले प्रदर्शन हुनुअघि चलचित्र जाँच गर्दा कथावस्तुको भाव मर्न दिन नहुने बताउँदै जाँच समितिको निर्णय चित्त नबुझे मन्त्रालयमा उजुरी दिने व्यवस्था थप गर्न सुझाव दिनुभयो ।
चलचित्र घर निर्माण गर्दा सम्बन्धित स्थानीय तहको अनुमति लिने व्यवस्था थप्न सुझाव दिँदै सांसदहरुले चलचित्र विकास बोर्डको नेतृत्वका लागि शैक्षिक योग्यतासँगै अनुभवलाई समेत ख्याल गर्ने गरी विधेयक संशोधन गर्न प्रस्ताव गर्नुभयो ।
विधेयकले चलचित्रको लगानी सुनिश्चित गर्नुपर्ने, राज्यले पनि लगानी गरेर चलचित्र निर्माण गर्नुपर्ने र बहुभाषिक चलचित्रलाई प्रोत्साहन गर्नुुपर्नेमा जोड दिँदै सांसदहरुले चलचित्रको मर्मअनुसार प्रयोग हुने शब्दहरू विधेयकमै स्पष्ट गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले ५७ वर्षपछि संशोधन हुन लागेको चलचित्रसम्बन्धी कानूनले सङ्घीयताको मर्मलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्