कास्कीको माछापुच्छ्रे ५ रिभानमा प्याराग्लाइडिङ तथा गाइड प्रशिक्षण केन्द्र स्थापना

पोखरा । साहसिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा परिचित पोखराको पर्यटनलाई गाउँस्तरसम्म विस्तार गर्ने उद्देश्यसहित कास्कीको माछापुच्छ्रे गाउँपालिका–५, रिभानमा प्याराग्लाइडिङ तथा गाइड प्रशिक्षण केन्द्र स्थापना गरिएको छ । स्थानीय युवालाई सीप, दक्षता र रोजगारीसँग जोड्दै माछापुच्छ्रे« गाउँपालिकाको पर्यटन सम्भावनालाई आर्थिक अवसरमा रूपान्तरण गर्ने लक्ष्यसहित एरोडाइनामिक प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याइएको हो ।
आज (बिहीबार) आयोजित प्रशिक्षण केन्द्रको समुद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले प्याराग्लाइडिङ पाइलट विजय दाहाललाई ग्लाइडर हस्तान्तरण गरी केन्द्रको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पोखराको प्याराग्लाइडिङको प्रमुख केन्द्रका रूपमा रहेको सराङकोटको विकल्पका रूपमा रिभान विकास हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । प्याराग्लाइडिङले पोखराको पर्यटन र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै उहाँले यसको विस्तारबाट माछापुच्छ्रे गाउँपालिकाको विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।
उद्घाटनलगत्तै गौतमले रिभानको आकाशमा प्याराग्लाइडिङ उडान भर्नुभएको थियो । हिमालको काख, खुला आकाश र मनोरम पहाडी दृश्यबीच सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दा तथा पाहुनाहरूको उत्साहजनक उपस्थिति रहेको थियो । करिब डेढ करोड रुपैयाँको संयुक्त लगानीमा पोखराका युवा व्यवसायी तथा अनुभवी प्यारापाइलट विजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीको पहलमा प्रशिक्षण केन्द्र स्थापना गरिएको हो । सञ्चालकहरूका अनुसार पोखरामा प्याराग्लाइडिङको व्यावसायिक उडान सञ्चालन हुँदै आएको लामो समय भए पनि दक्ष प्यारापाइलट उत्पादन गर्ने आफ्नै प्रशिक्षण विद्यालयको अभाव भएकोले उक्त अभाव पूरा गर्दै नेपालमै दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले रिभानमा स्कुल सञ्चालनमा ल्याइएको हो ।
पछिल्लो समय पोखरा प्याराग्लाइडिङको प्रमुख गन्तव्यका रूपमा स्थापित भए पनि प्यारापाइलट उत्पादनका लागि आवश्यक प्रशिक्षण संरचनाको कमी रहँदै आएको छ । यसले दक्ष जनशक्ति उत्पादनमा चुनौती थपेको थियो। रिभानमा प्रशिक्षण केन्द्र स्थापना भएसँगै प्याराग्लाइडिङ क्षेत्रमा नयाँ जनशक्ति उत्पादन गर्ने र स्थानीय युवालाई यसै क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्ने अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । प्रशिक्षण केन्द्रका सञ्चालक विजय गौतमका अनुसार रिभानस्थित समुद्री सतहबाट करिब एक हजार ६ सय ८० मिटर उचाइमा रहेको मैचेडाँडाबाट प्याराग्लाइडिङको टेकअफ हुनेछ भने करिब एक हजार ५० मिटर उचाइमा रहेको मर्दी नदी किनारको बेँसीमा अवतरण गरिनेछ । माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्दै उडान भर्न सकिने भएकाले रिभानलाई प्याराग्लाइडिङ प्रशिक्षण तथा साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।
’विश्वका उत्कृष्ट हिमाल माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलालाई नजिकबाट नियाल्दै आकाशमा उडान भर्न सकिने रिभान प्राकृतिक रूपमा निकै सुन्दर र सम्भावनायुक्त क्षेत्र हो,’ सञ्चालक गौतमले भन्नुभयो, ’यही सम्भावनालाई उपयोग गर्दै रिभानलाई प्याराग्लाइडिङ तथा पर्यटनको नयाँ केन्द्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’
एरोडाइनामिक प्याराग्लाइडिङ स्कुलले १५ दिने बिगिनर कोर्षदेखि इन्टरमिडियट, क्रसकन्ट्री तथा टेन्डमको टी–वान र टी–टुसम्मका प्रशिक्षण सञ्चालन गर्नेछ । प्रत्येक प्रशिक्षण सेसनमा छ जनालाई मात्र सहभागी गराएर तालिम प्रदान गरिने सञ्चालक गौतमले जानकारी दिनुभयो । यसबाट प्रशिक्षणको गुणस्तर र व्यावहारिक सीप विकासमा ध्यान दिन सकिने उहाँको भनाइ छ ।
प्रशिक्षण केन्द्र सञ्चालनका लागि कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, पर्यटन मन्त्रालय, नागरिक उड्डयनसम्बन्धी निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), नेपाल हवाई खेलकुद संस्था (ना), माछापुच्छ्रे गाउँपालिका र सम्बन्धित वडा कार्यालयलगायतका निकायमा आवश्यक दर्ता तथा अनुमति प्रक्रिया पूरा गरिएको सञ्चालक गौतमले बताउनुभयो । गाउँपालिकाले हाल टेकअफ र ल्याण्डिङका लागि आवश्यक स्थान निःशुल्क उपलब्ध गराएको छ भने गण्डकी प्रदेश सरकारले ती स्थान सम्याउन सहयोग गरेको छ ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले प्रशिक्षण केन्द्रले गाउँपालिकाको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले प्याराग्लाइडिङ प्रशिक्षण केन्द्रलाई क्षेत्रको विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने परियोजनाका रूपमा लिनुभएको छ । खेलकुदकर्मी यामबहादुर गुरुङले प्रशिक्षण केन्द्र सञ्चालनमा आएपछि पर्यटकको आगमन र आर्थिक गतिविधि बढ्ने तथा गाउँ छाडेर अन्यत्र गएका स्थानीयलाई आफ्नै गाउँ फर्किएर व्यवसाय तथा स्वरोजगारमा लाग्ने वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षण केन्द्रका सञ्चालक विष्णु गौतमले स्थानीय समुदायसँग सहकार्य गर्दै रिभानलाई पर्यटनको हबका रूपमा विकास गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्