तपाईँ सुन्दै हुनुहुन्छः

कारको डिकीबाट ११७ किलोभन्दा बढी गाँजा बरामद, चालक फरार

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित चेकपोस्टबाट प्रहरीले कारको डिकीमा लुकाएर ल्याउँदै गरेको ११७ किलो ९१० ग्राम गाँजा बरामद गरेको छ । गाँजा बरामद भए पनि कार चालक भने फरार भएका छन् ।

गए राति करिब १:४० बजे पालुङबाट भैँसेतर्फ आउँदै गरेको बीएबी (BAB) ४४३१ नम्बरको कारलाई नियमित चेकजाँचका क्रममा प्रहरीले रोकेको थियो । सोधपुछ तथा चेकजाँचका क्रममा चालकले कारको डिकीमा केही नभएको दाबी गर्दै एकाएक भागेपछि प्रहरीलाई शङ्का लागेको थियो ।

प्रहरीले डिकी खोलेर हेर्दा साना–ठूला गरी ९ वटा पोकामा प्याक गरिएको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बरामद गरिएको गाँजा तौल गर्दा ११७ किलो ९१० ग्राम रहेको पुष्टि भएको छ ।

बरामद भएको कार र गाँजालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । फरार रहेका कार चालकको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button