तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको खड्कवार आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै

बाँके। प्राकृतिक सौन्दर्य, हरियाली वातावरण र सामूहिक मनोरञ्जनको संगमका रूपमा रहेको बाँकेको खड्कवार पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

तिहारपछि देउसीभैलो खेलेर संकलन गरेको रकम सदुपयोग गर्दै वनभोज तथा मनोरञ्जनका लागि खड्कवार पुग्ने समूहको संख्या बढेसँगै यस क्षेत्रको चहलपहल पनि बढेको छ ।

कोहलपुर नगरपालिका–१३ स्थित खड्कवार पार्क, सामुदायिक होमस्टे तथा चुरे फेदी क्षेत्रमा पछिल्लो समय वनभोजका लागि आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको हो । विशेषगरी तिहारमा देउसीभैलो खेलेर संकलन गरिएको रकम खर्च गर्दै साथीभाइ, टोल विकास संस्था, आमा समूह तथा विभिन्न सामाजिक समूह वनभोजका लागि यहाँ पुग्ने गरेका छन् ।

बिहानैदेखि वनभोजका लागि आउने समूहको चहलपहलले खड्कवार क्षेत्रलाई थप रमणीय बनाउने गरेको छ । हरियाली जंगल, प्राकृतिक वातावरण र शान्त परिवेशमा सामूहिक खानपान, नाचगान तथा मनोरञ्जन गर्दै दिन बिताउनेहरूको उपस्थितिले यहाँको रौनक बढाएको छ ।

सहरको व्यस्तता र दैनिक भागदौडबाट केही समय टाढा रहेर प्रकृतिको आनन्द लिन चाहनेहरूका लागि खड्कवार उपयुक्त गन्तव्य बन्दै गएको छ । यहाँको प्राकृतिक सौन्दर्य र सामूहिक मनोरञ्जनको अवसरले युवायुवतीदेखि विभिन्न सामाजिक समूहसम्मलाई आकर्षित गरेको छ । वनभोजका माध्यमबाट साथीभाइ तथा टोलछिमेकीबीच भेटघाट र आपसी सम्बन्ध सुमधुर बनाउने अवसरसमेत मिल्ने गरेको छ ।

वनभोजका लागि आउने पर्यटकको संख्या बढेसँगै स्थानीय उत्पादन, परिकार तथा सामुदायिक होमस्टे व्यवसायमा पनि चहलपहल बढेको छ । आन्तरिक पर्यटकको आगमनले स्थानीय आर्थिक गतिविधि विस्तार गर्नुका साथै सामुदायिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्राकृतिक सम्पदा, स्थानीय संस्कृति र सामुदायिक सहभागितालाई पर्यटनसँग जोड्न सके खड्कवारले थप पर्यटकीय सम्भावना बोकेको देखिन्छ । व्यवस्थित पर्यटन पूर्वाधारको विकास, सरसफाइ, वातावरण संरक्षण र स्थानीय सहभागितालाई प्राथमिकता दिन सके यस क्षेत्रलाई बाँकेकै प्रमुख आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ ।

प्राकृतिक सौन्दर्य र सामूहिक मनोरञ्जनको आकर्षक संगमका रूपमा विकसित हुँदै गएको खड्कवारले बाँकेमा आन्तरिक पर्यटन प्रवर्द्धनको नयाँ सम्भावना उजागर गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button