‘भोटेकोशी–त्रिशूली बाढी प्रभावितको पुनःस्थापनाका लागि जोखिममा आधारित योजना अघि बढाइएको छ’

अन्ताल्या (टर्किए) । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको बताउनुभएको छ ।
कोप–३१ सम्मेलन स्थलमा रहेको पाकिस्तान प्याभिलियनमा आज आयोजित ‘समुदायको नेतृत्वमा तथ्याङ्कमा आधारित जलवायु अनुकूलनको विस्तार’ विषयक छलफलमा उहाँले बाढी प्रभावितको पुनःस्थापनाका लागि नेपालले गरिरहेका पहल र प्रक्रियाबारे जानकारी गराउनुभयो ।
डा उप्रेतीका अनुसार प्रभावित क्षेत्रको भौगर्भिक तथा बाढी जोखिम आकलन, सुरक्षित स्थानको पहिचान र स्थायी आवास निर्माणका लागि लाभग्राही छनोटको प्रक्रिया अघि बढाइएको छ । प्रभावितलाई आवास निर्माणका लागि जग्गा उपलब्ध गराउने तथा बाढीबाट प्रभावित निजी जग्गासँग सरकारी जग्गा साट्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनका लागि मासिक खर्च उपलब्ध गराउने निर्णय भएको जानकारी दिँदै उहाँले पुनःस्थापना प्रक्रियामा जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो ।
“नेपालले जोखिमसम्बन्धी ज्ञान तथा पूर्वसूचना प्रणालीलाई योजना निर्माणको आधारका रूपमा आत्मसात् गरेको छ । भौगर्भिक जोखिम, बाढीजन्य जोखिम तथा तिनका शृङ्खलाबद्ध असरको बहुप्रकोपीय जोखिम आकलन सुरु गरिएको छ”, उहाँले भन्नुभयो ।
उहाँले सन् २०२२ मा पाकिस्तानमा आएको विनाशकारी बाढीपछि हजारौँ प्रभावितको पुनmस्थापना तथा पुनर्निर्माणका क्रममा हासिल भएका अनुभव र सिकाइबाट नेपालले लाभ लिनसक्ने धारणा राख्नुभयो । छलफलमा पाकिस्तानी प्रतिनिधिहरूले सन् २०२२ को बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका अनुभव, चुनौती र सिकाइ प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्