तपाईँ सुन्दै हुनुहुन्छः

छठ पर्व : खरना विधि सम्पन्न

रौतहट । तराई–मधेशमा लोक आस्थाको महापर्व छठको रौनक छाएको छ । चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन आज व्रतालुहरूले श्रद्धा र भक्तिपूर्वक खरना विधि सम्पन्न गरेका छन् ।

खरना विधिसँगै छठ पर्वको उत्साह थप बढेको छ । व्रतालुहरूले दिनभर उपवास बसेर साँझ पवित्रताका साथ दूध, चामल र गुडबाट तयार पारिएको खीरसहितका प्रसाद ग्रहण गरी खरना विधि सम्पन्न गरेका हुन् । खरना सम्पन्न गरेपछि व्रतालुहरू निराहार व्रतको तयारीमा जुटेका छन् ।

छठ पर्वलाई लक्षित गर्दै गाउँघर, सडक तथा छठ घाटहरू सजाइएका छन् । नदी, पोखरी र जलाशयका घाटहरू झिलिमिली बत्ती, फूलमाला तथा विभिन्न सजावटले झकिझकाउ बनेका छन् । छठीमाताका गीतले गाउँघर गुञ्जायमान बनेको छ भने बजारमा छठ पूजाका सामग्री खरिद गर्नेहरूको चहलपहल समेत बढेको छ ।

रौतहटको वृन्दावन नगरपालिका–१ मा पनि छठ पर्वको विशेष रौनक देखिएको छ । स्थानीयवासीहरू छठ घाटको सरसफाइ, सजावट तथा पूजाका सामग्री व्यवस्थापनमा जुटेका छन्।

स्थानीय बुधिया देवीका अनुसार छठ पर्व श्रद्धा, विश्वास र पारिवारिक सुख–समृद्धिसँग जोडिएको पर्व हो । उहाँले छठीमाताप्रति आस्था राखेर परिवारको सुख, शान्ति र सन्तानको कल्याणका लागि व्रत बस्ने परम्परा रहेको बताउनुभयो ।

त्यस्तै, स्थानीय सञ्जीव पटेलले छठ पर्वले परिवार तथा समाजका सदस्यलाई एकै ठाउँमा जोड्ने गरेको बताउनुभयो । उहाँका अनुसार छठका अवसरमा गाउँघरमा देखिने आपसी सहयोग, सद्भाव र उत्साहले पर्वको महत्त्व झनै बढाएको छ।

स्थानीय चन्देश्वर राउतले छठ पर्वमा जातजाति र समुदायबीचको आपसी एकता तथा सद्भावको भावना बलियो हुने बताउनुभयो । उहाँले छठ घाटको सरसफाइ र सजावटमा स्थानीयवासीले सामूहिक रूपमा सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

छठ पर्वको तेस्रो दिन शनिबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन्। त्यसपछि आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म चल्ने छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button