तपाईँ सुन्दै हुनुहुन्छः

सुदूर पहाडमा जात्राको रौनक शुरु

बैतडी । तिहार सकिएसँगै सुदूर पहाडमा जात्राको रौनक शुरु भएको छ । कार्तिक शुक्ल पक्षभरि बैतडी, दार्चुला, डडेल्धुरा, डोटी लगायत जिल्लामा रहेका शक्तिपीठ तथा मन्दिरहरूमा जात्रा लाग्ने गरेको छ । कार्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गर्दछ । 

दसैँको बेला जात्रा लागेका मन्दिरहरूमा समेत कार्तिक शुक्ल पक्षमा समेत पूजाआजा गर्ने चलन रहीआएको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताउनुभयो। शरद ऋतु देवीदेवताहरूको पूजा उपासना गर्ने उत्तम ऋतुको रुपमा मानिन्छ । त्यसैले कार्तिक शुक्ल पक्षमा देवीदेवताहरूको पूजन गर्ने चलन रही आएको लेखकले बताउनुभयो।

कार्तिक शुक्ल प्रतिपदा देखिनै विभिन्न मन्दिरमा जात्रा सुरु भई कार्तिक शुक्ल पूर्णिमा सम्म जात्रा मनाउने चलन रही आएको दार्चुलाको शैल्यशिखर नगरपालिकाका विष्णु जोशीले बताउनुभयो। असोजको दुर्गा पक्षमा मात्र नभएर कार्तिक शुक्ल पक्षमा समेत विभिन्न देवीदेवताका मन्दिर र शक्तिपीठहरुमा सामूहिक पूजाआजा गर्ने चलन रहेको छ । कार्तिक मास उत्तम भनेर शास्त्रमा समेत लेखिएकाले यो महिना देवीदेवता पूजनका लागि उत्तम रहेको मानिने जोशीको भनाइ रहेको छ ।

कार्तिक शुक्ल पक्ष शुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योतिर्लिङ्ग मध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, फाल्ङासैनी भगवती मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, त्रिवणीधाम (राताशीला) मन्दिरमा जात्रा लाग्ने गर्दछ । यस्तै कफलाशैनी भगवती मन्दिर, जगन्नाथ मन्दिर, सिगास धुरा, सनशेर मन्दिर, सुरपाल मन्दिर लगायतका मन्दिरहरूमा कार्तिक शुक्ल पक्षमै जात्रा लाग्ने गर्दछ । यस्तै दार्चुलामा रहेको राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुन धाम, लटिनाथ लगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ । यस्तै डडेल्धुराको उग्रतारा र भागेश्वर लगायतका मन्दिरमा कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ । 

डोटीमा रहेको बडिकेदार मन्दिरमा कार्तिक शुक्ल पक्षमै जात्रा लाग्ने गरेको स्थानीयहरूले बताएका छन् । 

त्रिपुरासुन्दरी भगवती मन्दिर,रौलाकेदार, शिवनाथ, महारुद्र लगायतका मन्दिरमा कार्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ भने मेलौली भगवती, फाल्ङासैनी भगवती मन्दिर, उग्रतारा लगायतका मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यस्तै जगन्नाथ मन्दिरमा पनि कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यसैगरी प्रसिद्ध मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ । 

सुदूर पहाडमा हिजोआज जात्राको रौनक छाएको दशरथचन्द नगरपालिका ८ त्रिपुराका गणेशसिंह थापाले बताउनुभयो । उनले भने ‘हाम्रो यतातिर पहिलादेखिकै चलन हो । कार्तिक शुक्ल पक्षमा विभिन्न मन्दिरहरूमा जात्रा हुने गर्दछ । दशैं तिहार पछि पनि १५ दिन दशैंतिहार भन्दा झन रमाइलो हुने थापाको भनाइ रहेको छ ।

बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्रामा दर्शन गर्नका लागि सीमावर्ती भारतीय नागरिक पनि आउने गर्दछन् । कार्तिक शुक्ल सप्तमीदेखि शुरु भई कार्तिक शुक्ल अष्टमीका दिन लाग्ने मेलामा भारतको झुलाघाट,पिथौरागढ लगायत क्षेत्रबाट हजारौँ दर्शनार्थी आउने गरेको स्थानीय आनन्दमणि भट्टले बताउनुभयो । भारतीय नागरिकको नेपालका शक्तिपीठहरु प्रति ठूलो विश्वास छ । प्रत्येक वर्ष हजारौँको लगानी गरेर दर्शनार्थीहरु नेपालका बैतडी, डडेल्धुरा, दार्चुला जिल्लामा पुग्ने गरेको भारतीय पत्रकार राजेश पंगरियाले बताउनुभयो । 

दशैंदेखि कार्तिकको अन्तिम सम्ममा पहाडी क्षेत्रका गाउँघरमा चहलपहल बढ्ने गरेको स्थानीय संस्कृतिका जानकार शिवराज भट्टले बताउनुभयो । हिजोआज सुदूर पहाडका गाउँबस्तीमा चहलपहल बढेको स्थानीयबासीले बताएका छन् । देवीदेवताका मन्दिरमा लाग्ने सामूहिक जात्राले सामाजिक भावनाको विकास गरेको दार्चुलाका स्थानीय गंगासागर जोशीले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा थुप्रै धार्मिक पर्यटनका क्षेत्र रहेका छन् । वर्षभरिमा ती धार्मिक क्षेत्रमा कम्तीमा पनि ३ पटक मेला जात्रा लाग्ने गर्दछ । पहाडका एकै गाउँमा कम्तीमा ५,६ ओटा मन्दिर रहेका छन् । सुदूर पहाडमा रहेका धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रचारप्रसार नहुँदा यस क्षेत्रमा पर्यटक भित्र्याउन नसकेको संस्कृतिका जानकार चन्द्रमोहन तिवारीले बताउनुभयो । 

सुदूर पहाडमा रहेका धार्मिक क्षेत्रहरू भारतमा रहेका धार्मिक क्षेत्रभन्दा कम नभए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेका शिक्षक उद्धव बिष्टले बताउनुभयो । दशैंतिहार जत्तिकै महत्व दिएर कार्तिक शुक्ल पक्षमा जात्रा मनाइने भएकाले यसको प्रचारप्रसारका लागि राज्यका निकायहरूले ध्यान दिनुपर्ने स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button