छठ पर्वको दोस्रो दिन, खरना विधि गरी मनाइँदै
बारा । लोक आस्थाको पर्व सनातन धर्मावलम्बीले मान्ने छठ व्रतको दोस्रो दिन आज खरना विधि अर्थात् रसियाव रोटी मनाइँदै छ । तराईमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीले परापूर्वकालदेखि मनाउँदै आएका यस पर्वमा खरना विधि अत्यन्त महत्वपूर्ण मानिन्छ ।
व्रतालु तथा तिनका आफन्त खरना विधिको तयारीमा बिहानैदेखि जुटेका छन् । खरना विधि पूरा गर्न आँपको दाउराको व्यवस्था गर्न युवाहरू आँपको बगैँचातिर छन् । आँपका सुकेको दाउरा सङ्कलन गरिरहेको अवस्थामा भेटिएका कलैया उपमहानगरपालिका-१६ उत्तरझिटकैयाका धर्मेन्द्र गिरीले खरना विधिमा आँपको दाउराको विशेष महत्व हुने बताउनुभयो ।
शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको यो पर्वको पहिलो दिन बारा सदरमुकाम कलैयालगायत जिल्लाभरिका व्रतालुले नहायखाय विधि पूरा गरेका छन् । व्रतालुले शुद्धतापूर्वक आफैँले पकाएको सात्विक भोजन ग्रहण गरेका हुन् । व्रत बस्ने महिला, पुरुष खाना खानु अघि नुहाएर शुद्ध घिउमा बनाइएको सात्विक खाना खाएर नहाय खाय विधि पूरा गरेका हुन् ।
व्रतको दोस्रो दिन आज ‘रसियाउ रोटी’ अर्थात् खरना विधि गरिँदै छ । व्रतालुले मिठा, सख्खर, दूध, शुद्ध चामलको प्रयोग गरी माटोको हडियामा रसियाउ र खपरी (माटोको तावा) मा शुद्धतापूर्वक गहुँ पानीले सफा गरेर घाममा सुकाइ सफा गरेको उपकरणमा पिँधेर निकालेको पीठोबाट रोटी पकाएर प्रसादका रूपमा खाने चलन छ ।
रसियाउ रोटी छठी माता र घरको देवतालाई चढाएपछि पहिला व्रतालु महिला (छठैतिन) ले खान्छन् । त्यसपछि परिवारका अन्य सदस्यले प्रसादका रूपमा त्यहीँ रोटी खाएर बस्छन् । पर्वको तेस्रो अर्थात् मुख्य दिन आइतबार व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाउँछन् ।
व्रतालुले घर नजिकको पोखरी, नदी, सरोवर आदिमा निर्माण भएको छठी घाटमा साँझ अस्ताउँदै गरेको सूर्यलाई बासको सुपुली र दाउरामा पूजाका सामग्री राखेर अर्घ्य दिने परम्परा रहेको कलैया उपमहानगरपालिका(१६ उत्तरझिटकैयाकी व्रतालु मान्तीदेवी ठाकुरले जानकारी दिनुभयो ।
त्यसको भोलिपल्ट अर्थात् पर्वको अन्तिम दिन सोमबार उदाउँदै गरेको सूर्यको पहिलो किरणलाई अर्घ्य दिँदै छठ पूजालाई विधिवत् रूपमा समापन गरिन्छ । व्रत समापन भएको अन्तिम दिन व्रतालुले गाउँ घरमा रहेका इनार, चापाकल, घरमा भएका सवारीसाधन, गाई, गोरु, पति तथा आफ्ना अग्रज, मठमन्दिर आदिमा पूजा गर्दै घर फर्किन्छन् ।
व्रत समाप्त भएपछि छठ पर्वको प्रसाद छरछिमेक र इष्टमित्र कहाँ पठाउने तथा विवाह गरेर गएका छोरीहरूलाई बायन पठाउने चलन रहेको कलैया–१६ का वडा सदस्य ओमप्रकाश यादवले बताउनुभयो । छठ पर्व मनाउँदा चर्मरोग निको हुने, सन्तान प्राप्ति हुने र मनोकामना पूरा हुने जनविश्वासका कारण तराई क्षेत्रमा मनाउँदै आइएको यो पर्व बिस्तारै पहाडी र हिमाली क्षेत्रमा समेत मनाउन थालिएको उहाँले बताउनुभयो ।
श्रद्धा, भक्ति र धार्मिक सहिष्णुताको प्रतिकका रूपमा स्थापित छठ व्रत तराई मूलका ९५ प्रतिशत हिन्दू महिलाले मनाउने गरेको उहाँको भनाइ छ । तराई क्षेत्रमा बसोबास गर्दै आएका पहाडी मूल, मारवाडी र बङ्गाली समुदायका महिलाले समेत श्रद्धापूर्वक छठ मनाउने परम्परा बढ्दै गएको उहाँले बताउनुभयो ।
तराईमा सीमित रहेको छठ व्रत बिस्तारै हेटौँडा र नारायणगढ हुँदै सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न भागमा फैलिएको वडा सदस्य यादव बताउनुभयो । उहाँका अनुसार विशेषगरी, महिलाले बस्ने यस व्रतमा कुनै कारणले घरका महिला असमर्थ भए परिवारका पुरुष सदस्यले व्रत बसेर भए पनि परम्परालाई निरन्तरता दिने मान्यता छ ।
छठ पर्वका लागि आवश्यक पूजा सामग्रीमा माटोका भाँडा ९(ढकनी), हात्ती, दियो, बाँसका सामग्री (दौरी, सुपुली, छैँटी), उखु, नरिवल, आलसको तेल, फलफूल, चिनीबाट बनाइएको विशेष प्रकारको मिठाई बतासा, पहेँलो धोती लगायत पर्दछन् ।
रोजगारीका लागि बाहिरिएकाहरू गाउँ फर्किए
जीविकोपार्जनका लागि राजधानी काठमाडौँलगायत नेपालका विभिन्न स्थान तथा भारतको दिल्ली, मुम्बई र लुधियाना लगायत सहरमा रोजगारीका लागि गएका बाराका युवा छठ पर्व मनाउन घर फर्किएका छन् ।
गाउँबाहिर बस्दै आएकाहरू घर फर्किएपछि गाउँमा युवाको चहलपहल बढेको स्थानीयले बताएका छन् । छठघाटमा छठीमाताका गीत घन्किन थालेका छन् भने यहाँका घाटहरू दुलहीझैँ सिँगारिएका छन् । धेरै स्थानमा छठ घाट सजाउने काम अझै जारी रहेको स्थानीयले जानकारी दिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्