तपाईँ सुन्दै हुनुहुन्छः

संरक्षणको अभावमा जीर्ण बन्दै कान्ति ताल, पर्यटन सपना संकटमा

बाँके । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गएपछि नेपालगञ्जको कान्ति तालको पर्यटन सम्भावना संकटमा परेको छ । सार्वजनिक लगानीबाट निर्माण गरिएका पूर्वाधारको उचित संरक्षण र व्यवस्थापन हुन नसक्दा तालको सौन्दर्य मात्र खस्किएको छैन, यसको पर्यटकीय सम्भावना र जैविक विविधतासमेत जोखिममा परेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्ति ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न उपमहानगरपालिकाले करिब १० करोड रुपैयाँ खर्च गरिसकेको छ । तर, महत्वाकाङ्क्षी योजना सुरु भएको सात वर्ष बितिसक्दा पनि तालको अवस्थामा सुधार आउन सकेको छैन । बरु निर्माण गरिएका संरचना भत्किने र ताल क्षेत्र झाडीले ढाकिँदै जाने क्रम बढेको छ ।

तालको सौन्दर्य बढाउन निर्माण गरिएका रेलिङ भत्किएका छन् भने आसपासका अन्य संरचनासमेत जीर्ण बनेका छन् । नियमित सरसफाइ, मर्मतसम्भार र संरक्षणको अभावमा तालको आकर्षण घट्दै गएको स्थानीयवासीको गुनासो छ ।

नेपालगञ्ज–२२ पुरैनीका स्थानीय चेतबहादुर थापाले कान्ति ताल संरक्षणका लागि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताउनुभयो । सार्वजनिक बजेटबाट निर्माण गरिएका संरचनाको संरक्षणमा उपमहानगरपालिकाले जिम्मेवारी पूरा गर्न नसकेको उहाँको भनाइ छ ।

‘ताल क्षेत्र झाडीले भरिएको छ । करोडौँ खर्चेर बनाइएका रेलिङ भत्किएका छन् । संरक्षण गर्ने निकायको ध्यान पुगेको छैन,’ थापाले भन्नुभयो, ‘योजना बनाउने र बजेट खर्च गर्ने काम भयो, तर त्यसको रेखदेख गर्ने जिम्मेवारी पूरा भएन ।’

कान्ति ताल पर्यटकीय दृष्टिले मात्र नभई पर्यावरणीय हिसाबले पनि महत्वपूर्ण क्षेत्र हो । विभिन्न प्रजातिका चराचुरुङ्गीको प्राकृतिक बासस्थान रहेको ताल संरक्षणको अभावमा जैविक विविधता र प्राकृतिक स्वरूप गुमाउने जोखिममा छ । पर्यावरण तथा चरा संरक्षणमा सक्रिय अभियन्ताहरूले तालको प्राकृतिक स्वरूप जोगाउन र पुरानै अवस्थामा फर्काउन आवाज उठाउँदै आए पनि संरक्षणका प्रयास प्रभावकारी हुन सकेका छैनन् ।

ताल क्षेत्र झाडीले ढाकिँदै जाँदा सुरक्षा चुनौतीसमेत बढेको स्थानीयको गुनासो छ । साँझ परेपछि ताल परिसर असुरक्षित हुने गरेको तथा लागुऔषध प्रयोगकर्ताको जमघट र शङ्कास्पद गतिविधि बढेकाले आसपासका बासिन्दा त्रसित हुने गरेको थापाले बताउनुभयो ।

ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ राजस्व बुझाउने सम्झौतामा ठेक्का लिएका फनबहादुर गुरुङले पनि ताल परिसरका संरचना तोडफोड भएको बताउनुभयो । उहाँका अनुसार रेलिङलगायतका पूर्वाधार लागुऔषध प्रयोगकर्ताबाट तोडफोड भएको हुन सक्ने देखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतमा बनाइएका योजनाले अपेक्षित नतिजा दिन नसकेको स्वीकार गर्नुभएको छ । उहाँले सरोकारवाला निकायका प्रतिनिधिसँग गहन छलफल गरी कान्ति तालको दिगो संरक्षण र व्यवस्थापनका लागि नयाँ तथा प्रभावकारी योजना बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

नयाँ योजना बनाउने तयारी भइरहँदा पुराना संरचनाको संरक्षण, सार्वजनिक लगानीको प्रतिफल र सम्बन्धित निकायको जिम्मेवारीमाथि पनि प्रश्न उठेको छ । सात वर्षअघि सुरु गरिएको योजना प्रभावकारी हुन नसक्दा करोडौँ रुपैयाँको लगानी खेर जाने जोखिम बढेको छ ।

नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले कान्ति तालको तत्काल संरक्षण र व्यवस्थित सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँका अनुसार तालको उचित व्यवस्थापन गर्न सके पर्यटकीय गतिविधि बढाउनुका साथै स्थानीय अर्थतन्त्र, रोजगारी र आयआर्जनमा समेत योगदान पुग्न सक्छ ।

कान्ति तालको वर्तमान अवस्थाले सार्वजनिक पूर्वाधार निर्माणमा मात्रै नभई त्यसको दीर्घकालीन संरक्षण, सञ्चालन र व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button