‘डिजिटल रूपान्तरणमा विकासोन्मुख देशलाई पछाडि पर्न नदिन प्रविधि हस्तान्तरण र वित्तीय सहयोग आवश्यक’
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले विकासोन्मुख र अल्पविकसित देशहरूलाई डिजिटल रूपान्तरणको प्रक्रियामा पछाडि पर्न नदिन प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
कतारको दोहामा भएको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ आइटियुको महासम्मेलन (आइटियु पिपी–२६ मा सहभागी भई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटमा सञ्चार मन्त्री डा.तिमिल्सिनाले विश्वव्यापी डिजिटल रूपान्तरणले नयाँ अवसर सिर्जना गरे पनि लगानी र प्रविधिमा असमान पहुँच तथा दक्ष जनशक्तिको अभावका कारण विकासोन्मुख देशहरू थप पछाडि पर्ने जोखिम रहेको बताउनुभयो ।
आइटियुको महासम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण रहेको उल्लेख गर्नुहुँदै सञ्चार मन्त्री डा.तिमिल्सिनाले महासम्मेलनमा उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको ‘डिजिटल डिभाइड’लाई कम गर्ने र प्रविधिको पहुँच बढाउने विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी दिनुभयो ।
यस्तै सम्मेलनमा बाढी, पहिरो र भूकम्पजस्ता विपद्का बेला सञ्चार प्रणालीलाई कसरी निर्बाध रूपमा चालु राख्ने भन्नेबारेमा सम्मेलनमा छलफल भएको र त्यस क्रममा नेपालले विपद्को समयमा सञ्चारको भूमिका झनै महत्वपूर्ण हुने कुरामा जोड दिएको सञ्चार मन्त्री डा.तिमिल्सिनाले बताउनुभयो ।
डिजिटल पहुँचमा रहेको असमानतासँगै कृत्रिम बौद्धिकता, फाइभजीलगायत उदीयमान प्रविधिमा पहुँचका आधारमा नयाँ प्रकारको डिजिटल विभाजन सिर्जना भइरहेको उल्लेख गर्नुहुँदै सञ्चार मन्त्री डा.तिमिल्सिनाले सबै देश तथा समुदायमा समान रूपमा प्रविधि विकासको लाभ पुर्याउन अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
मन्त्री डा.तिमिल्सिनाले सम्मेलनका क्रममा सूचना प्रविधि र टेलिकम्युनिकेशनको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेका विभिन्न देशका विभिन्न देशका प्रतिनिधीहरुसँग सूचना प्रविधिको पहुँच विस्तारबारे द्विपक्षीय छलफल भएको जानकारी दिनुभयो ।
मन्त्री डा.तिमिल्सिनाले नेपालको आवश्यकता र रुचिअनुसार विभिन्न देशसँग सूचना प्रविधि र टेलिकम क्षेत्रमा सहकार्य तथा साझेदारीका विषयमा पनि विचारविमर्श भएको भएको बताउनुभयो ।
इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु)ले दूरसञ्चार क्षेत्रमा विश्वव्यापी रुपमा नीति निर्माणको काम गर्दै आइरहेको छ ।
आइटियुमा १९४ देश सदस्य राष्ट्र छन् ।








प्रतिक्रिया राख्नुहोस्